कमजोर पूर्वाधारका कारण अपेक्षित पर्यटक भित्र्याउन सकिएको छैन : कार्यकारी निर्देशक जोशी

काठमाडौँ । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले पूर्वाधारको कमजोर अवस्थाका कारण अपेक्षित पर्यटक भित्र्याउन नसकेको बताएका छन् ।

नेपाल पर्यटक यातायात व्यवसायी संघ र नेपाल टुरिजम बोर्डद्वारा आयोजित पर्यटक सवारी चालक तथा सहचालक अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक जोशीले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय मूल सडकबाहेक भित्री सडकहरूको अवस्थामा सुधार भइसकेको र आगामी दुई वर्ष भित्रमा मुख्य गन्तव्यहरू जोड्ने सडक पनि सम्पन्न हुने अवस्थामा रहेकोले पर्यटक आगमनको संख्यापनि राम्रो हुँदै जाने दाबी गरे ।

कार्यकारी निर्देशक जोशीले फ्रन्टलाइनमा भेटिने पर्यटक सवारी चालक र सहचालकको व्यवहारले नेपालको छवि संसारको सबैभन्दा राम्रो र सबैभन्दा राम्रा नेपाली भनेर चिनिएको स्पष्ट गरे ।

पूर्वाधारमा यतिधेरै कमजोरी भइरहँदा पनि आतिथ्यताले नेपालको बनेको छविलाई बचाउने काम गर्न उनले सरोकारवालालाई आग्रह गरे ।

उनले भने ‘आजको दिनमा पर्यटकहरूको संख्या हामीले सोचे जति छैन । लगानी एकदम धेरै छ, यातायातको क्षेत्रमा पनि, होटलको क्षेत्रमा पनि र किन हुन सकिरहेको छैन भन्ने कुरापनि तपाई हामी सबैले बुझेकै छौं । हाम्रो आधारभूत पूर्वाधारको अवस्था कमजोर हुँदा हामीले अपेक्षितमात्रामा पर्यटक भित्र्याउन सकिरहेका छैनौँ । तरपनि पछिल्लो समयमा नेपाल सरकार र स्थानीय तहको पनि पूर्वाधारमा निकै ठूलो जोड रहेको छ । मूल सडकबाहेक भित्री सडकहरू सबै ठिक भइसकेका छन् ।

मूल सडक पनि आगामी डेढदेखि २ वर्षमा हाम्रा मुख्य गन्तव्यहरू जोडिने सडकहरू सम्पन्न हुँदैछन् । त्यसपछि हाम्रो पर्यटक आगमनको संख्या पनि राम्रो हुँदै जानेछ । संसारभरि निरन्तर वृद्धि भइरहेको एउटा क्षेत्र कुनै हो भने पर्यटन क्षेत्र मात्रै हो । आजको दिनमा राम्रो छैन भनेर निराश हुनुभन्दा पनि केही समयमै हाम्रो भविष्य राम्रो छ भनेर आशावादी बन्नुपर्छ । हामीले यातायात क्षेत्रको कुरा गर्नुपर्दा गुणस्तरीयता, सफाइ त छँदै छ त्योबाहेक पर्यटकलाई दिने आतिथ्यता छ त्यसलाई हामीले मेन्टेन गरिरहनुपर्ने छ । त्यही कारण हो जसले गर्दा नेपालमा आउने पर्यटकहरू एकपटक आएपछि पटक पटक आइरहेका छन् ।

करिब करिब ३६ प्रतिशत पर्यटकहरू एकपटक आएपछि आइरहनुहुन्छ । त्यो आइरहने बनाउनुभएको चाहिँ तपाईँहरूले नै हो । फ्रन्टलाइनमा भेटिने तपाईँहरू नै हो, तपाईँहरूले गर्दा नेपालको छवि संसारको सबैभन्दा राम्रो र सबैभन्दा राम्रा नेपाली भन्ने छवि बनेको तपाईँहरूकै व्यवहारले हो । त्यो व्यवहार बढाउनु त छँदै छ जोगाएर राख्नुपनि चुनौतीपूर्ण छ । दिनदिनै व्यावसायिकता बढ्दै छ, त्यसैले तपाईँहरू आशावादी भइदिनुस् छिटै हाम्रो पर्यटन साँच्चिकै राम्रो हुनेछ । हामीले आजका दिनसम्म राम्रो आतिथ्यता दिएर पूर्वाधारमा यति धेरै कमजोरी भइरहँदा पनि नेपालको छवि बचाउने जुन काम गर्नुभएको छ त्यो बचाइरहनुहोला ।’

उनले पर्यटक यातायातको गुणस्तरीयता, सफाइलगायत पर्यटकलाई दिइने आतिथ्यताले एकपटक आएका पर्यटक पटकपटक आउने गरेको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =