नेपालसँग जापान ८० रनमा समेटियो, शुभमले लिए ५ विकेट

काठमाडौं । एसिसी मेन्स यु-१६ एलिट कप क्रिकेटमा नेपालले आफ्नो सानदार प्रदर्शनलाई निरन्तरता दिएको छ । प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई ८० रनको सामान्य स्कोरमा अलआउट गर्दै आफ्नो घातक बलिङको उत्कृष्ट नमुना प्रस्तुत गरेको हो ।
नेपाली बलरहरूको कसिलो बलिङसामू जापानी ब्याटरहरू निरिह सावित भए । मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको जापानले नेपाली बलरहरूको धारिलो आक्रमण झेल्न सकेन र ३४.३ ओभरमा मात्र ८० रन बनाउँदै अलआउट हुन पुग्यो। जापानका लागि कप्तान चार्ली हाराहिन्जीले बनाएको ३६ रन नै सर्वाधिक रह्यो । उनले ४८ बलमा ४ चौका प्रहार गरे। अर्का ब्याटर गम्बी हाराहिन्जीले १३ रन जोड्नुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
जापानलाई सस्तैमा समेट्ने क्रममा नेपालका बायाँ हाते स्पिनर शुभम खनाल नायक बने । उनले आफ्नो १० ओभरको स्पेलमा मात्र १५ रन खर्चिएर ५ विकेट (पञ्जा) लिँदै सनसनीपूर्ण प्रदर्शन गरे । उनलाई अभय यादवले २ तथा शुशिल रावल र विपिन शर्माले समान १-१ विकेट लिएर उत्कृष्ट साथ दिए ।
यो जितसँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । यसअघि आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई पराजित गरेको थियो भने जापानले भुटानलाई हराएको थियो । लगातार दुई जितले समूह ‘ए’ मा नेपालको सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनेको छ ।
एसियाली क्रिकेट परिषद् (एसिसी) द्वारा आयोजित यस प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी छन् । समूह ‘ए’ मा नेपाल, सिंगापुर, इन्डोनेसिया, भुटान र जापान रहेका छन् । अब नेपालले समूह चरणको तेस्रो खेल आइतबार इन्डोनेसियासँग खेल्नेछ भने अन्तिम खेलमा भुटानको सामना गर्नेछ ।
प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपाल उपाधि रक्षा गर्ने लक्ष्यमा बलियो देखिएको छ । नेपालले यसअघिका तीनै संस्करणको उपाधि जितेर ह्याट्रिक गरिसकेको छ । प्रतियोगिताको फाइनल खेल जुलाई ५ (असार २१) मा हुनेछ ।








