एसिसी यु–१६ इस्ट कपमा नेपालको विजयी सुरुवात, सिंगापुरमाथि शानदार जित

काठमाडौं । एसिसी यु–१६ इस्ट कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

आइतवार मलेसियाको युकेएम ओभलमा सम्पन्न खेलमा सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर प्रसिद्ध जैशीले ९७ बलमा ५ चौकाको मद्दतमा ५५ रनको सानदार पारी खेले। अर्का ओपनर रौनक श्रीवास्तवले ४४ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४० रन बनाए ।

सिंगापुरका लागि आकाश तेजाले ३ विकेट लिँदा युभान पाण्डेले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको सिंगापुर ३६.१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटिएको थियो । कप्तान रियन नायकले सर्वाधिक ५३ बलमा ९ चौका प्रहार गर्दै ५३ रन बनाए। ओपनर आहान भुधानभामले ३३ बलमा ३८ रनको योगदान दिए ।

नेपालका लागि कप्तान विपिन शर्माले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए । सचिन भट्टले ३ विकेट हात पारे भने शुभम खनाल र अभय यादवले समान १–१ विकेट लिएका थिए ।

नेपालले यस जितसँगै समूह ‘ए’ मा २ अंक जोडेको छ । समूह ‘ए’ मा नेपालसहित सिंगापुर, भुटान, इन्डोनेसिया र जापान रहेका छन् । समूह ‘बी’ मा आयोजक मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 11 =