मुक्तककार ढुङ्गेलको ‘क्रमभङ्ग’ सार्वजनिक

काठमाडौं । नेपाली गीति फाँटमा वेग्लै पहिचान बनाउनुभएका गीतकार सुवासचन्द्र ढुङ्गेलको पछिल्लो कृति ‘क्रमभङ्ग’ नामक मुक्तक सङ्ग्रह सार्वजनिक गरिएको छ ।

आवरण प्रकाशनद्वारा आज आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा रङगकर्मी किशोर पहाडीसहितका साहित्यकर्मीले उक्त कृतिको लोकार्पण गरे । ‘क्रमभङ्गमा’ विभिन्न भाव र विषयका २१० वटा मुक्तक समावेश छन् ।

त्यसअवसरमा साहित्यकार पहाडीले नेपाली गीत क्षेत्रमा स्थापित ढुङ्गेल मुक्तक लेखनमा पनि उत्तिकै सशक्त भएको यस कृतिले छर्लङ्ग पारेको धारणा राखे । उनले भने, ‘मुक्तक मिठो हुन्छ, मनमोहक हुन्छ, कृतिमा समेटिएका मुक्त पनि त्यस्तै छन् ।’

कृति समीक्षक प्राडा कपिल अज्ञातले कोमल विधाको गीत लेख्ने ढुङ्गेल मुक्तकजस्तो चोटिलो विधामा पनि पारङ्गत भइसकेको विचार व्यक्त गरे । मुक्तककार दिव्य गिरीले कुशल मुक्तककार ढुङ्गेलका सिर्जनामा समसामयिक व्यङ्ग्य, चेतनायुक्त विषयवस्तु, जीवनपरक घटना र यथार्थपूर्ण विषयवस्तु समेटिएको बताए ।

आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले गीतकार ढुङ्गेल गीतमा जति सफल हुनुहुन्छ, मुक्तक लेखनमा पनि चोटिलो प्रहार गर्न सक्षम रहेको दावी गरे ।

कवि तथा समालोचक भारती न्यौपानेले गीतकार ढुङ्गेललाई नेपाली साहित्यमा क्रमभङ्गले स्थापित मुक्तककारको रूपमा चिनाउन सफल हुने विश्वास व्यक्त गरे ।

कृतिकार ढुङ्गेलले विश्वपरिवेशका सन्दर्भ र दर्शनका कुरालाई फ्युजन गरेर आफूले मुक्तक सिर्जना गरेको तथा जीवनमा एकल मुक्तकवाचन गर्ने रहर पलाएको विषय सुनाए । कवि तथा मुक्तकारद्वय विपिन मर्म र माया उपाध्यायले पनि गीतकार तथा मुक्तककार ढुङ्गेलको सिर्जना संसारका बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =