नेतृत्व गर्ने मान्छेले खुट्टा कमाएर अब मुलुक बन्न सक्दैन : सांसद भण्डारी

काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले नेतृत्वमा रहेकाहरुले खुट्टा कमाएमा मुलुक बन्न नसक्ने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद भण्डारीले यस्तो बताएका हुन् ।
उनले विनियोजित विधेयकमाथि सात वटा विषयमा छलफल गर्ने भनेर दलीय आधारमा समय मागेपनि अचानक तीन वटा विषयमा मात्र छलफल गर्ने भनिनु सांसदको कमजोरी नभएको स्पष्ट पारे ।
शिक्षा, रोजगारी र दलालीको चंगुलमा परेर युवाहरु विदेश पलायन भइरहेको अवस्थामा बजेट ल्याउनु आवश्यक नभएको भन्दै बजेट भन्दा पनि आवश्यकतातर्फ गम्भीर बन्नुपर्नेमा उनले जोड दिए ।
सांसद भण्डारीले विधिको शासन, मुलुकको प्रगति र जनताको हितका लागि संसदीय व्यवस्थामार्फत मुलुकको प्रगति गर्छौं भनेर व्यवस्था ल्याएको पनि ३४ वर्ष बितिसकेको भन्दै संसदमा देखिएका असहमतिको समाधानका निमित्त सरकारलाई आग्रह गरे ।
उनले मुलुक युवाबिहीन बनिरहेकोतर्फ छलफल गर्नुपर्ने अवस्था भएपनि त्यसतर्फ गम्भीर बन्न नसकेको स्पष्ट पारे ।








