रास्वपा र समाजवादीले काँग्रेसलाई नैतिकता सिकाउन मिल्दैन : जितजंग बस्नेत

काठमाडौं । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी)ले नैतिकता सिकाउने अधिकार नराख्ने बताएका छन् ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै बस्नेतले दुबै पार्टीका शीर्ष नेताहरू आफैं कानुनी समस्यामा रहेको बेला नेपाली काँग्रेसलाई नैतिकता सिकाउने प्रयास हास्यास्पद भएको टिप्पणी गरे ।
‘नैतिकताको कुरा गर्दा खेरी म रास्वपा र समाजवादी पार्टीलाई सोध्न चाहन्छु– नैतिकता तपाईंहरूमा लाग्छ कि लाग्दैन ?’ उनले भने, ‘तपाईंको नेतालाई अख्तियारले मुद्दा लगाएको छ, अर्को पार्टीका सभापति जेलमा हुनुहुन्छ। अनि पार्टी सभापति र संसदीय दलको नेताबाट पनि राजीनामा नदिने ? अनि हामीलाई नैतिकता सिकाउने ?’
उनको टिप्पणी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको मुद्दा र रास्वपाका सभापति रवि लामिछाने हाल कैद सजाय भोगिरहेकै सन्दर्भमा आएको हो ।
बस्नेतले स्पष्ट रूपमा भने, ‘नैतिक चरित्र बिना देश चल्दैन होला । त्यसैले नैतिकता सिकाउनुअघि आफैं भित्र फर्किएर हेर्नु पर्छ । पहिले आफू राम्रो हुनुपर्छ, सुन्दर नैतिक चरित्र भएको देखिनुपर्छ, अनि मात्रै अरूलाई सिकाउन पाइन्छ ।’
उनले मुलुकको नेतृत्व गर्नेहरूमाथि नैतिक जिम्मेवारी हुने भन्दै यस्ता दोहोरो मापदण्डले जनता झन् निराश हुने उल्लेख गरे । ‘नेतृत्वमा नैतिकताको स्पष्ट मापदण्ड नभएकोले नै आज देश यो अवस्थामा पुगेको हो,’ बस्नेतले भने ।








