नाडा अटो शो २०२५ उद्घाटनका लागि अर्थमन्त्रीलाई निमन्त्रणा

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले नाडा अटो शो २०२५को तयारी तीव्र पारेको छ ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा नाडा अटो शो २०२५को तयारी तीव्र पारिएको हो ।
नाडा अटो शो २०२५ को उद्घाटनदेखि समापनसम्मको कार्य तालिका नाडाले बनाइसकेको छ । जसका लागि नाडा अटो शो २०२५को उद्घाटनका लागि अर्थमन्त्री विष्णु पौडेललाई निमन्त्रणा दिएको छ ।
नाडाका अध्यक्ष चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपप्रधान तथा अर्थमन्त्री पौडेललाई आउँदो भाद्र ३ गते देखि ८ गतेसम्म आयोजना हुने नाडा अटो शोमा प्रमुख अतिथिको रुपमा उद्घाटन गरी दिन औपचारिक निमन्त्रणा दिएको हो ।
उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले धेरै समयको अन्तराल पछि नेपालको अटोमोवाइल क्षेत्र लगायत समग्र नीजिक्षेत्र मैत्री बजेट आएको बताए । सोही छलफलको क्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमा पहिलो पटक सिमरामा सवारी साधन मेनुफेक्चरिङ्ग उद्योग खोल्ने तयारी भइरहेकोले त्यस्ता उद्योगलाई टेवा पुग्ने नीति आउनु पर्ने, यस्ता मेनुफेक्चरिङ्ग उद्योगलाई थप सुविधा उपलब्ध गराउनु पर्ने र नीतिमा स्थिरता ल्याउनका लागि आग्रह गरे ।
छलफलको अन्त्यमा अर्थमन्त्री पौडेलले नाडाको राखेको उक्त आग्रहलाई सहर्ष स्वीकार गर्दे नेपालका अटोमोवाइल व्यवसायीहरूले धेरै भन्दा धेरै राजश्व उपलब्ध गराएर सरकारलाई सहयोग गर्नु पर्ने बताए ।
उक्त छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।
१७ औं संस्करणको नाडा अटो शो २०२५ आउँदो भाद्र ३ गते देखि ८ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप परिसरमा आयोजना हुनेछ ।








