बजेटले दीर्घकालीन सुधारको स्पष्ट संकेत दिएको छ : सांसद कार्की

काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको बजेटले मुलुकको दीर्घकालीन सुधार, जनअपेक्षा र यथार्थता समेटेको स्पष्ट संकेत दिएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै सांसद कार्कीले बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्यहरू उपयुक्त रहेको उल्लेख गरे । उनले बजेटले उच्च, दिगो र फराकिलो आर्थिक वृद्धिदर हासिल गरी गरिबी निवारण, उद्यमशीलता प्रवद्र्धन, विकास र सार्वजनिक तथा निजी लगानी विस्तारलाई केन्द्रमा राखेको बताए ।

‘यो बजेटले मुलुकको वर्तमान आर्थिक यथार्थता, जनअपेक्षा र दीर्घकालीन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको छ,’ सांसद कार्कीले भने, ‘लक्ष्यहरू प्राप्त गर्न सहज छैन, तर यथार्थमा उभिएको यो बजेटले जनताका आकांक्षालाई सम्बोधन गर्ने दिशामा सही बाटो लिएको छ ।’

उनका अनुसार बजेटले उद्यमशीलता, रोजगारी सिर्जना, उत्पादन तथा उत्पादकत्व वृद्धिमा प्राथमिकता दिएको छ । त्यस्तै, प्रतिफलमुखी र गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी तथा सामाजिक क्षेत्रमा गुणस्तरात्मक सुधार पनि बजेटका मुख्य उद्देश्यहरू हुन् ।

तर सांसद कार्कीले बजेटको कार्यान्वयन पक्षप्रति चिन्ता पनि व्यक्त गरे । उनले भने, ‘अर्थतन्त्रले भोगिरहेका समस्याहरू—न्यून आर्थिक वृद्धि, उच्च बेरोजगारी, बाह्य व्यापार घाटा, पूँजीगत खर्चमा कमजोरी, र राजस्व संकलनको चुनौती—अहिलेसम्म यथावत छन् । यस्ता समस्याहरूलाई प्रतिबद्धतामात्र होइन, कार्यान्वयनमार्फत सम्बोधन गर्नुपर्छ ।’

कार्कीले अर्थमन्त्रीको ध्यान बजेट कार्यान्वयनतर्फ जान जरुरी रहेको भन्दै विनियोजन क्षमता, कार्यान्वयन क्षमता, जवाफदेहीता र नीतिगत स्पष्टताको आवश्यकतामा जोड दिए ।

‘बजेटलाई परिणाममुखी बनाउन अर्थमन्त्रीले समयमै मूल्यांकन गर्दै अगाडि बढ्नुपर्छ,‘ उनले भने, ‘तब मात्र जनताले अपेक्षा गरेको विकासको गति हासिल गर्न सकिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =