धनगढीमा दिगोको नयाँ शोरुमको सुरुवात

काठमाडौँ । दिगो ग्रुपले पश्चिम नेपालमा आफ्नो उपस्थिति सुदृढ बनाउने उद्देश्यले धनगढीमा ख्वाजा ट्रेडर्सलाई आधिकारिक बिक्रेता नियुक्त गरेको छ ।
नयाँ शोरुमको उद्घाटनसँगै दिगोले सुदूरपश्चिम क्षेत्रका ग्राहकहरूलाई हरित तथा नवीनतम विद्युतीय सवारी साधनहरू सहज रूपमा उपलब्ध गराउने लक्ष्य लिएको छ ।
ख्वाजा ट्रेडर्सद्वारा सञ्चालित उक्त शोरुममा दिगोले नेपालभर बिक्री वितरण गर्दै आएको ब्रान्डअन्तर्गतका विद्युतीय सवारी साधनहरू प्रदर्शन तथा बिक्री गरिने जानकारी दिएको छ ।
कम्पनीका अनुसार यसमा डाँफे भ्यानको ११ सिट क्षमताको विद्युतीय मोडेलका साथै १४, १६ र १९ सिट क्षमताका माइक्रो बसहरू उपलब्ध हुनेछन्, जुन सामूहिक यातायातलाई दिगो, सुलभ र किफायती बनाउनेतर्फ महत्वपूर्ण कदम हुनेछ ।
शोरुम उद्घाटन समारोहका अवसरमा बोल्दै दिगोका प्रमुख कार्यकारी अधिकृत सौरब श्रेष्ठले भने ‘धनगढी केवल भौगोलिक दृष्टिले मात्रै हैन, सम्भावनाको केन्द्र पनि हो । हामीलाई खुसी छ कि ख्वाजा ट्रेडर्सको साथमा यो सम्भावनालाई मूर्तरूप दिन सकिएको छ। दिगोले देशभर विद्युतीय सवारी साधनको सहज पहुँच पुर्याउने लक्ष्य राखेको छ र यो नयाँ शोरुम त्यसै अभियानको एउटा महत्वपूर्ण अध्याय हो। हामी चाहन्छौं, नेपालका सबै भूभागमा स्वच्छ, किफायती र दिगो यातायात प्रणालीको पहुँच होस् ।’
ख्वाजा ट्रेडर्सका सञ्चालक गुलाम रसुल अन्सारीले धनगढीका लागि यो अवसर विशेष रहेको बताए ।
‘हामी धनगढी र आसपासका क्षेत्रलाई विद्युतीय यातायाततर्फ उन्मुख गराउने दिशामा अघि बढ्दैछौं,’ उनले भने ।
दिगोको यो कदमसँगै सुदूरपश्चिम क्षेत्रका व्यवसायी, शैक्षिक संस्था, पर्यटन क्षेत्र, र सार्वजनिक यातायात क्षेत्रका लागि विद्युतीय सवारी साधनहरूमा लगानी गर्ने वातावरण झनै सहज हुने जनाइएको छ ।








