प्रकाशकीय

हामी नवौँ वर्षमा: परिमार्जित हुँदै अघि बढ्ने प्रतिबद्धता

काठमाडौँ । मकालु मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित मकालुखबर डटकम आजबाट नवौँ वर्षमा प्रवेश गरेको छ । देशमा भइरहेको विकास र परिवर्तनसँगै मकालुखबरले आफ्नो यात्रालाई निरन्तर अगाडी बढाइरहेको छ । नेपालमा लोकतन्त्रको सबलीकरण र जनतामा सही र तथ्य सूचना प्रवाहको पहरेदार भएर मकालुखबरले आफ्नो यात्रालाई शानदार बनाएको छ ।

पछिल्लो समय बढ्दै गइरहेका आमसञ्चार माध्यामकाबिचमा मकालरखबरले सधैँ नयाँ र समयानुकूल सामाग्री पाठकसामु प्रकाशित गरिरहेको छ । एआई र अन्य विभिन्न प्रविधिको रथमा विश्व मिडिया हिँडिरहेका बेला हामीले पनि प्रविधिसँगै प्रतिस्पर्धा र सत्य तथ्यको जाँचलाई भुलेका छैनौं ।

देश संघियतामा गइसकेपछि भएका परिवर्तनको साक्षी बन्दै आएको मकालुखबर सामाजिक, राजनीतिक, आर्थिक तथा समसामयिक परिवर्तनको संवाहक बन्न पाएकोमा हामी गौरवान्वित छौँ । मकालुखबरले आफ्ना सामाग्रीमा सबल पक्षलाई अङ्गीकार र दुर्बल पक्षलाई परिस्कार गर्दै आएको छ । आफ्नो यात्रालाई अझ गतिशील बनाउन मकालुखबर सधैँ प्रतिबद्ध छ ।

पछिल्लो समय देशमा बढ्दै गएको व्यवस्था विरोधी मतहरू हुन् वा वर्तमान व्यवस्थालाई थप मजबुत बनाउने आवाजहरू हुन्, सबैलाई स्थान दिएका छौं । ‘हामी कसैका होइनौँ, हाम्रो कोही होइन’ भन्ने चेत राखेर हामी हाम्रा सामग्री प्रकाशित गर्ने गर्दछौँ ।

सूचनाका माध्यमबाट समाजलाई जागरूक बनाउने अभियानमा हामी थाकेका छैनौँ । हामी सधैँ प्रश्न साध्छौँ र समाज अनि प्रणालीलाई जबाफदेही बनाउँछौँ । नेपालमा पछिल्लो समय केही भएन, केही हुन्न, सबै भत्कियो, बिग्रियो भन्ने भाष्य निर्माण भइरहेका बेला हामीले निराशा होइन, आशाको सञ्चार प्रवाह गरिरहेका छौँ, गरिरहने छौँ । मकालुखबरले प्रकाशित गर्ने सामाग्री भ्रममा होइन सत्यमा टेकेर तयार हुन्छन्, मकालुखबरले आफ्ना सूचना संयन्त्रलाई यही अभियानमा समर्पित गरेको छ ।

मकालुखबर सत्ता र शक्तिको अगाडी कहिले पनि झुकेन । मकालुखबरले नवौँ वर्षको यात्रामा सधैँ शासक, सत्ता र शक्तिमाथि प्रश्न गरिरह्यो । हामी कहिले कसैको प्रलोभनमा परेनौँ, हामीले उठाएका विषयमा र प्रश्नमा कतिपय शक्तिहरू बरु आत्तिए, डराए तर हामी हाम्रो यात्रामा विचलित भएनौँ ।

हामीले हाम्रो व्यवसायीक धर्मलाई भुलेका छैनौँ । सत्ता, शक्ति र शासकले हामी जस्तै कयौँ मिडियामाथि प्रतिसोध साँधेका छन् । यो यात्रामा हामीले पनि धेरै पटक यस्तो सामना गर्नु परेपनि हामी हाम्रो यात्रामा सधैँ अडिग छौँ । सीमान्तकृतका आवाजलाई मुखरित गर्नु, नागरिक चेतनाको स्तर अभिवृद्धि गर्नु र विधिको शासन एवं सुसंस्कृत समाज निर्माणमा योगदान पु-याउनु हाम्रो निरन्तर प्रयास रहँदै आएको छ ।

वर्तमान डिजिटल युग सुहाउँदो परिवर्तन र सुधार गर्न हामी प्रयासरत छौँ । प्रतिस्पर्धात्मक बजारमा आफूलाई अझ खरो रूपमा उत्रनुपर्ने चुनौतीलाई सामना गर्दै अघि बढ्न मकालुखबर तयार छ । सबै पाठकले सहज रूपमा पढ्न पाउने र विश्वसनीय एवं जिम्मेवार सञ्चार संस्थाका रूपमा अझ परिमार्जित हुँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ ।

हामीलाई थाहा छ, समाचारको मार्ग कहिल्यै पनि समथर र सहज हुँदैन । सत्यको अन्वेषण, तथ्यको सम्प्रेषण र निष्पक्षताको संरक्षणका लागि हामीले डटेर काम गरेका छौँ । स्थापनाकालदेखि नै मकालुखबरले स्वतन्त्र, सन्तुलित र विश्वसनीय पत्रकारिता गर्दै आएको छ । आज नेपालको एक अग्रणी सञ्चार माध्यामकारुपमा स्थापित हुनुमा हाम्रा पाठक, विज्ञापनदाता, शुभचिन्तक, कर्मठ संवाददाता, दक्ष प्रविधिकर्मी र समग्र व्यवस्थापन टोलीको अथक परिश्रम, समर्पण र अटुट विश्वासको प्रतिफल हो । यो यात्रामा साथ, सहयोग र सद्भावका लागि हामी आदरणीय पाठक, विज्ञापनदाता र शुभेच्छुकप्रति आभारी छौँ ।

धन्यवाद  !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =