समस्याग्रस्त कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

काठमाडौं । बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय अर्बौं रुपैयाँ वित्तीय अपचलनको गम्भीर आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई शनिबार नेपाल-भारत सिमानाको बेलहिया नाकाबाट पक्राउ गरिएको औपचारिक जानकारी दिएको छ ।

सीआईबीका एसएसपी होबिन्द्र बोगटीले रायको पक्राउको पुष्टि गर्दै उनलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि बाँके लैजाने तयारी भइरहेको बताए । कर्णाली विकास बैंकमा भएको करिब ४ अर्ब ९० करोड रुपैयाँ बराबरको रकम हिनामिना प्रकरणमा संस्थापक अध्यक्ष राय मुख्य योजनाकार रहेको आरोप छ ।

बैंकभित्रको अनियमितता र अपचलनको विषयमा अनुसन्धान प्रक्रिया अघि बढेसँगै उनी लामो समयदेखि फरार रहँदै आएका थिए । बैंकको आन्तरिक छानबिन प्रतिवेदनले उक्त वित्तीय अपराधमा अध्यक्ष रायका अतिरिक्त बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशकुमार रावत, तत्कालीन वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी र निरजविक्रम शाह समेतको प्रत्यक्ष संलग्नता रहेको निष्कर्ष निकालेको थियो ।

यो प्रकरणले बैंकिङ क्षेत्रमा सुशासन र नियामक निकायको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको थियो । ठूलो रकम अपचलन भई बैंकको वित्तीय स्वास्थ्य धराशायी बनेपछि हाल कर्णाली विकास बैंकको व्यवस्थापन नेपाल राष्ट्र बैंकले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =