सस्तोमा किनेर भारतलाई महँगोमा बिजुली बिक्री गरिरहेका छौं : हितेन्द्रदेव शाक्य

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेपालले रातिको समयमा भारतलाई प्रति युनिट ४ भारतीय रुपैयाँ (भारु) मा विद्युत बिक्री गरिरहेको बताएका छन् । आइतबार साँझ कुलेश्वरस्थित नो लाइट शाखा अन्तर्गतका विभिन्न स्थानमा देखिएको विद्युत आपूर्ति समस्या, उपभोक्ताको गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो जानकारी दिएका हुन् ।
उनले भारतमा दिउँसोको समयमा विद्युत अत्यन्त सस्तो भएको फाइदा उठाउँदै आयात गरी राति महँगोमा बिक्री गर्ने रणनीति अपनाइएको खुलासा गरे ।
प्रबन्ध निर्देशक शाक्यका अनुसार, भारतमा हाल केही दिनदेखि दिउँसोको समयमा विद्युतको मूल्य निकै कम, कहिलेकाहीँ त प्रति मेगावाट आवर करिब ५० पैसा (अर्थात् प्रति युनिट एक पैसाभन्दा पनि कम) सम्म झरेको छ । ‘त्यो बेलामा हामीले भारतबाट बिजुली जतिसक्दो ल्याएर कुलेखानी, मस्र्याङ्दी, कालीगण्डकी र तामाकोशीमा पानी जम्मा गरेर राख्यौँ, खर्च गरेनौँ,’ शाक्यले भने, ‘बेलुका अहिले पिक लोड समयमा ती आयोजनाहरू चलायौँ । पिक लोडको समयमा पनि अहिले हामीलाई भारतबाट बिजुली लिनु परेन । हाम्रो खोलामा पानी प्रशस्त बढेको छ ।’
उनले राति ९ बजेपछि जलाशयमा सञ्चित पानीबाट उत्पादित बिजुली भारतलाई बिक्री गरिरहेको बताए । ‘राति ९ बजेपछि भारु ४ मा बिजुली पाउने अवस्था छ। त्यसको मतलब हामीले सस्तोमा एक डेढ पैसा परयुनिटमा किनेर भारु ४ मा बेच्न पाउने अवस्था छ,’ उनले अगाडि भने, ‘हामीले शनिबार मात्रै २५ सय मेगावाट आवर खरिद गरेछौँ । राति हामीले १३ सय मेगावाट आवर विक्री गरेका छौँ । विक्री र खरिद युनिट हेर्दा विक्री युनिट कम छ, तर पैसाको हिसाबले फाइदा छ ।’
यो क्रम नदीमा पानीको बहाव दिउँसो पनि सञ्चित गर्न नसकिने गरी नबढेसम्म केही दिन जारी रहने उनको भनाइ छ । ‘जबसम्म आफ्नो खोलाको पानी दिउँसोसम्म बढी हुने, सञ्चित गर्न नसकिने गरी हुन्छ, त्यसपछि हामी भारतबाट किन्दैनौँ । तर राति हामी बेच्नसक्छौँ,’ शाक्यले भने ।
उनले जुन १५ देखि राउण्ड द क्लर्क (चौबीसै घण्टा) विद्युत व्यापार अन्तर्गत भारतसँग भएको ५ वर्षे सम्झौताअनुसार निश्चित दरमा विद्युत बिक्री सुरु हुने र त्यो बजारको तत्कालीन दरमा भर नपर्ने पनि जानकारी दिए । निर्देशक शाक्यले गत बुधबार र बिहीबारबाहेक अन्य दिन विद्युत आपूर्तिमा खासै समस्या नरहेको जिकिर गर्दै वास्तविकताभन्दा फरक र सत्यता लुकाएर अफवाह फैलाइएको आरोप लगाए ।








