प्रवासी श्रमिकको स्वास्थ्य जिम्मा रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव डब्लुएचओमा लैजाने

काठमाडौं । विदेशमा श्रम गर्न जाने श्रमिकहरूको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी सम्बन्धित रोजगारदाता राष्ट्रले लिनुपर्ने महत्वपूर्ण प्रस्ताव नेपालले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को आगामी विश्व स्वास्थ्य सम्मेलनमा लैजाने भएको छ । विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भई बिहीबार स्वदेश फर्किएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यस्तो बताएका हुन् ।

मन्त्री पौडेलका अनुसार, अन्य मुलुकमा कामदार पठाउने देशहरूले आफ्ना नागरिकले भोगिरहेको विकराल स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै यो प्रस्ताव अघि सारिएको हो । यसपटकको सम्मेलनमा नेपालले यस विषयमा प्रारम्भिक जानकारी गराइसकेको छ । यो प्रस्ताव पारित भएमा श्रमिकहरूले विदेश जानुअघि, त्यहाँ रहँदा र स्वदेश फर्कंदा आवश्यक स्वास्थ्य सहयोग र उनीहरूको स्वास्थ्य अवस्थाबारे सम्बन्धित रोजगारदाता राष्ट्रले नै जानकारी गराउनुपर्ने बाध्यकारी व्यवस्था हुनेछ ।

मन्त्री पौडेलले भने, ‘यो प्रस्तावले उपचार नपाएर फर्कनुपर्ने, खर्च अभावले पूर्ण उपचार नहुने वा उपचार नै नपाउने, मृत्यु भएमा शव पठाउन नसकिने तथा रोग बोकेर स्वदेश फर्कनुपर्ने जस्ता दुःखद बाध्यताको अन्त्य गर्नेछ ।’

उनले यस वर्षको सम्मेलनमा महामारीबाट प्रभावित विपन्न राष्ट्रहरूलाई डब्लुएचओले अनिवार्य सहयोग गर्नुपर्ने नीतिगत व्यवस्था सर्वसम्मतिले पारित भएको बताए । मन्त्री पौडेलले डब्लुएचओका नीतिगत विषयमा नेपालले अब सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

नेपालले लैजान लागेको यो प्रस्ताव धेरै सदस्य राष्ट्रहरूका लागि आवश्यक रहेको उनको भनाइ छ । यसै सिलसिलामा छिमेकी मुलुक भारतसँग स्वास्थ्यसम्बन्धी विषयमा द्विपक्षीय सम्झौता गर्नेबारे छलफल भएको र चीन, बेलायत, बंगलादेश, श्रीलंका, माल्दिभ्स, नर्वे, स्विट्जरल्याण्ड लगायतका देशहरूसँग पनि स्वास्थ्य क्षेत्रमा समझदारी गरिएको मन्त्री पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

One thought on “प्रवासी श्रमिकको स्वास्थ्य जिम्मा रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव डब्लुएचओमा लैजाने

  1. Duty time pani fix hunuparyo contract ma 7hrs xa Tara 14 hrs samma khatnuparxa housemaid le .over time didina employer le

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + six =