ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

काठमाडौँ । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ ।
यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैङ्कहरूबाट जारी भएको भिसा तथा मास्टर कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंकले नेपालमा ईकमर्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको जनाएको छ । ग्लोबल पेमेन्ट गेटवेले बैंकका मर्चेन्टहरुलाई आफ्नो व्यवसायको दायरा विस्तार गरी देश विदेशबाट सहज रुपमा भुक्तानी लिन सक्ने बैंकले जनाएको छ । यो गेटवेको सुरुवातपश्चात् ईकमर्स कारोबारहरू गर्ने जस्तै ट्राभल तथा टुर एजेन्सी, होटल, एयरलाइन्स, हस्पिटल लगायतका व्यवसायहरू लाभान्वित हुने बताइएको छ ।
बैंकका अनुसार ग्लोबल पेमेन्ट गेटवेले राष्ट्रिय र अन्तर्राष्ट्रिय भुक्तानीहरू प्राप्तिको लागि सहज बनाउने भएकोले बैंकका मर्चेन्टहरुको व्यवसायलाई वृद्धिमा सहयोग पुग्नेछ । साथै, यस पेमेन्ट गेटवेमा थ्रिडि सेक्योर्ड प्रविधिको प्रयोग हुने भएकाले यस गेटवेमार्फत हुने कारोबारहरू थप सुरक्षित हुनेछ ।








