भ्रष्टाचारी ठहर भएका विकल पौडेललाई १३ करोड बढीको जरिवाना र कैद फैसला

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ ।
अदालतले पौडेलको भ्रष्टाचार मुद्दामा १३ करोड ५८ लाख ५२ हजार ५ सय ८० रुपैयाँ जरिवाना एवं कैद सजायको फैसला सुनाएको हो ।
अख्तियारद्वारा दायर मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रामबहादुर थापाको संयुक्त इजलासले पौडेललाई सजाय सुनाएको हो ।
पौडेललाई डेढ वर्ष कैद सजायसहित सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकको भूमिकामा रहेर पदीय दुरुपयोग गरेको ठहरसहित थप ६ महिना कैद सजाय तोकिएको छ ।
विशेष अदालतले पौडेललाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको थियो ।
सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुन मिचेर केही व्यक्ति विशेष वा कम्पनीसँग मिल्ने गरी सुरक्षण प्रेसको सफ्टवेयर तथा उपकरण खरिद गरेको निष्कर्षसहित उनीहरूविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेका थियो ।
उक्त प्रकरणमा पौडेलसहितका व्यक्तिहरूको मिलेमतोमा कानुन विपरीत कार्यगरी सरकारको सम्पत्ति हानी–नोक्सानी पुर्याएको अख्तियारको दाबी गरेको थियो ।








