समान अवसर र प्रविधिमैत्री वातावरण निर्माणमा श्रमिकको भूमिका महत्वपूर्ण : सभामुख घिमिरे

काठमाडौं । विश्व मजदुर दिवस का अवसरमा सभामुख देवराज घिमिरेले सामाजिक सुरक्षाको सुनिश्चितता, श्रमिकहरूको सीप विकास, प्रविधिमैत्री वातावरण, समान अवसर र गरिमायुक्त श्रम व्यवस्था सुनिश्चित गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले नेपालका सम्पूर्ण श्रमिक वर्ग, श्रमिक अभियन्ता र ट्रेड युनियनका सदस्यहरूमा शुभकामना व्यक्त गरेका छन्। उनले वर्तमान समयको सन्दर्भमा बालश्रम, श्रमिक महिला–पुरुषबीचको असमानता, अपारदर्शी रोजगार प्रणाली र वैदेशिक रोजगारमा हुने शोषणले श्रम क्षेत्रलाई अझ प्रभावकारी र पारदर्शी बनाउने नीतिगत र कार्यान्वयनगत संयन्त्र आवश्यक रहेको औंल्याए।
उनले नेपालको संविधानले श्रमिकका अधिकारलाई आर्थिक तथा सामाजिक न्यायको आधार मानेर संवैधानिक संरक्षण प्रदान गरेको स्मरण गराउँदै, संविधानको धारा ३४ ले श्रमको अधिकारलाई सुनिश्चित गरेको उल्लेख गरे। सभामुख घिमिरेले भने, “उचित पारिश्रमिक, सुरक्षित तथा सम्मानजनक श्रम वातावरण, सामाजिक सुरक्षा लगायतका विषयमा राज्यको स्पष्ट जिम्मेवारी संविधानले तोकेको छ, तर कार्यान्वयन पक्षमा अझ चुनौतीहरू छन्।”
उनका अनुसार, आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा श्रमिकको भूमिका अत्यन्तै महत्वपूर्ण छ। कृषि, निर्माण, सेवा, उद्योग, पर्यटन र वैदेशिक रोजगारीजस्ता क्षेत्रहरूमा श्रमिकहरूको पसिना र योगदानले राष्ट्र समृद्धि तर्फ अघि बढ्न सक्षम भएको उनले बताए।
सभामुख घिमिरेले सन् १८८६ मा अमेरिकाको शिकागोमा भएको श्रमिक आन्दोलनबाट सुरु भएको यो दिवसले आज पनि श्रमिक अधिकार, सम्मान र न्यायपूर्ण जीवनको मागलाई विश्वभर सन्देश प्रवाह गरिरहेको बताएका छन्।
“सबै श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूमा सम्मानजनक श्रम व्यवस्थाको कामनासहित विश्व मजदुर दिवस २०८२ का अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु,” सभामुख घिमिरेले सन्देशमा उल्लेख गरेका छन् ।
यसैबीच राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक दिवसले राज्य र रोजगारदातालाई मजदुरको पक्षमा काम गर्न र श्रमिक वर्गलाई एकताबद्ध भई अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले मे दिवसले सम्पूर्ण श्रमिकलाई पेसागत हक, हित र अधिकारका लागि सङ्गठित एवम् एकताबद्ध भई अघि बढ्न प्रेरणा मिलोस् भनी कामना गरे ।
अध्यक्ष दाहालले नेपाली जनताको ठूलो त्याग, बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा २०७२ सालमा जारी सङ्घीय गणतान्त्रिक संविधानले प्रत्येक श्रमिकलाई श्रमअनुसारको ज्याला, सुविधा तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको उल्लेख गरे। उनले संविधानको व्यवस्थामा आधारित भएर श्रमिक वर्गको पक्षमा थुप्रै ऐन कानुनहरू बनेका भन्दै ती कानुन र संविधानप्रदत्त हक कार्यान्वयन भए मात्रै श्रमिक दिवस मनाउनुको सार्थकता हुने बताए ।
“नेपालमा श्रमजीवी जनताले आफ्नो अधिकारका निम्ति विभिन्न कालखण्डमा सशक्त र सशस्त्र सङ्घर्ष गरेर बलिदानका अनेकौँ कीर्तिमान कायम गरेका छन् । किसान, मजदुरसहित सबै उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायका जनताको सङ्घर्ष र बलिदानको कीर्तिमानकै कारण देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । गणतान्त्रिक व्यवस्थामा श्रमिक वर्गलाई रोजगारी, सुरक्षा र सम्मानजस्ता आधारभूत पक्षमा राज्यले कुनै कमी हुन दिनु हुँदैन”, शुभकामना सन्देशमा भनिएको छ ।
अध्यक्ष दाहालले कार्यस्थलमा मर्यादित र मजदुरमैत्री वातावरण, समयमा पारिश्रमिक प्रदान गर्नुपर्ने विषयमा राज्यका निकाय गम्भीर बन्नुपर्ने आवश्यकतामा जोड दिए। सामाजिक सुरक्षा, बिमालगायत लोककल्याणकारी सेवाको नीतिगत व्यवस्थाका साथै कार्यान्वयन गर्न ढिलाइ गर्न नहुने उनको भनाइ छ । “जसरी हिजोका दिनहरूमा समाज परिवर्तन गर्दै जनताको राज्यसत्ता प्राप्त गर्न निरन्तर सङ्घर्ष श्रमिक वर्गले गर्यो, जनताको बलबाट प्राप्त ती राजनीतिक परिवर्तन र उपलब्धिलाई बचाउन तथा सुदृढ गर्न श्रमिक वर्ग हमेसा सचेत रहन दिवसले प्रेरणा मिलोस् भनी कामना गर्दछु”, सन्देशमा भनिएको छ ।








