सगरमाथा संवाद हरेक नेपालीको गौरवशाली कार्यक्रम हो : सचिव डा. मिश्र

काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले सगरमाथा संवादलाई हरेक नेपालीको गौरवशाली कार्यक्रमका रुपमा लिनुपर्ने बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित ‘जलवायु परिवर्तन, सगरमाथा संवाद र मिडियाको भुमिका’ विषयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सगरमाथा संवादलाई आगामी पुस्ताले गर्व गर्नसक्ने अवस्थामा स्थापित गराउनु पर्ने बताए ।
उनले जलवायु परिवर्तनका विषयमा विश्वको सबैभन्दा उच्च स्थानबाट प्रवाह गरिने सन्देशका रुपमा सगरमाथा संवादलाई अगाडि बढाउनुपर्ने बताए ।
उनले जलवायु परिवर्तनका बारेमा हिमालदेखि समुन्द्रसम्मको सन्देश विश्वलाई दिनसक्ने गरी सबै प्रकारका सञ्चारमाध्यमले विशेष भुमिका खेल्नुपर्नेमा जोड दिए ।
उनले जलवायु परिवर्तनका असर र त्यसबाट बच्ने उपायसहितका लेख, तस्बिर, भिडियो लगायतका सामग्री प्रचारप्रसार गर्न आग्रह गरे ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले जलवायु परिवर्तनको मुद्दा नेपालले अन्तर्राष्ट्रिय रुपमा उठाउने मुख्य मुद्दा भएको बताए । उनले काउन्सिलले सञ्चालन गरिरहेको अभिमुखिकरण कार्यक्रमहरुमा जलवायु परिवर्तनसम्बन्धी विषय थप गर्ने बताए ।
उनले पत्रकारले रचनात्मक पत्रकारितको माध्यमबाट सरकारलाई सुझाव दिनुपर्ने बताए । प्रेस काउन्सिलले जलवायु परिवर्तन तथा विकास मुद्दाहरुका सामग्री समाचार कक्षमा उपलब्ध गराउने प्रयास गर्ने उनको भनाइ छ ।
कान्तिपुर टेलिभिजनका सम्पादक विजय पौडेलले आगामी १५ दिनपछि हुन लागेको सगरमाथा संवादलाई सफल पार्न मिडियाले सबै विषय बिर्सिएर जलवायु परिवर्तनको विषयमा ध्यान दिनुपर्ने बताए ।
उनले जलवायु परिवर्तनकै कारण आफ्नो थाकथलो छोडेर शरणार्थीको रुपमा विस्थापित हुने अवस्था आउनेतर्फ सचेत हुनुपर्ने बताए ।
उनले सगरमाथा सम्बादलाई सफल पार्न सञ्चारमाध्यमलाई विषेश अवसर भएकाले विभिन्न कोणबाट परिणाम दिनेगरी काम गर्नुपर्नेमा जोड दिए ।
पत्रकार एवं वातावरण अभियन्ता रमेश भुसालले जलवायु परिवर्तनले ल्याएको समस्यासँग सामना गरेर नेपालले फरक खालको विकास गर्न सक्ने बताए । उनले पृथ्वीको इतिहासमा मान्छेले विगतमा विभिन्न दुःख पीडा अनुभव गरेको आएको बताए ।
समस्या पाएपछि मान्छेले समाधान पनि खोज्ने भएकाले विकासको मोडेलमा नेपालमा भएका स्रोतसाधनलाई प्रयोग गर्नुपर्ने बताए ।
उनले जलवायु परिवर्तन समस्या मात्रै नभइ विकास गर्ने नयाँ अवसर पनि भएको भन्ने सन्देश नेपाली सञ्चारमाध्यमले दिनुपर्नेमा जोड दिए ।
अभियान्ता भुसालले जलवायु परिवर्तनको विषय वातावरणीय समस्या नभइ राजनीतिक र आर्थिक समस्या भएको अर्थमा नेपाली सञ्चारमाध्यमहरुले बुझ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा वक्ताहरुले जलवायु परिवर्तनको मुद्दालाई नेपालले गहन रुपमा बुझ्नुपर्ने भएकाले सगरमाथा संवादमार्फत विश्वलाई विशेष सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिएका छन् ।








