राजावादीको सक्रियताबारे सरकार- कुनै दबाब छैन

काठमाडौं । राजतन्त्र पुनर्स्थापनाको पक्षमा आयोजित प्रदर्शनले काठमाडौंको सडक तातेको छ । आइतवार भएको यो प्रदर्शनमा उल्लेख्य सहभागिता देखिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरू उत्साहित देखिएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने क्रममा राजसंस्थाका समर्थकहरूले भव्य स्वागत गरेका थिए । संसद्को पाँचौँ ठूलो दल राप्रपाले राजतन्त्रको पक्षमा जनमत बढ्दै गएको दाबी गरेको छ । यसरी बढ्दो समर्थन गणतन्त्र पक्षधर दलहरूलाई भने सतर्क गराउने संकेत देखिएको छ ।
राप्रपाका उपाध्यक्ष तथा सांसद ध्रुवबहादुर प्रधानका अनुसार तत्कालै राजतन्त्र पुनर्स्थापनाका लागि आन्दोलन चर्काउने योजनामा छैनन् । उनले भने, ‘हामी पहिले प्रमुख दलहरूसँग वार्ता र संवाद गर्न चाहन्छौँ । यदि दलीय सहमति जुट्छ भने, संविधान संशोधनमार्फत पनि परिवर्तन सम्भव छ ।’
राप्रपाले पूर्वराजा शाहको समर्थनमा देखिएको उल्लेख्य उपस्थितिमा तीन वटा कारण औँल्याएको छ । ‘सरकार फिर्ती सवारी हुँदा स्वागत गर्ने क्रममा अपार जनमानसको उपस्थिति रह्यो । त्यसमा हामीले उठाएका मुद्दाप्रतिको जनसमर्थन, राजाको सम्बोधन र सरकारप्रतिको असन्तुष्टि तीनै कुरा जोडिएका छन्,’ राप्रपाका उपाध्यक्ष प्रधानले भने ।
यता राजतन्त्रको पुनर्स्थापनाको मागसहित भएको प्रदर्शनपछि सत्तारुढ माओवादी केन्द्रले पनि तत्काल आफ्नो ‘तराई-मधेश जागरण अभियान’ स्थगित गरेर स्थिति समीक्षा गरेको छ । माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले यो घटनालाई कुशासनको परिणामका रूपमा व्याख्या गरे । ‘संविधानको संघीयता र धर्मनिरपेक्षता अस्वीकार गर्ने आन्तरिक तथा बाह्य तत्वहरू पनि सक्रिय देखिन्छन्,’ उनले भने ।
उनका अनुसार लोकतन्त्रको विकल्प अझ परिष्कृत लोकतन्त्र नै हो । ‘हिजोका संघर्षबाट प्राप्त उपलब्धिहरू कुनै हालतमा पछि फर्कन सक्दैनन्,’ सापकोटाको भनाइ थियो । सरकारप्रति असन्तोषकै कारण यस्तो प्रदर्शनले बल पाएको कुरा माओवादीका नेताहरूले पनि स्वीकार गरेका छन् । ‘कुशासन, भ्रष्टाचार र बिचौलियाको हालीमुहालीकै कारण जनता निराश बनेका छन्,’ सापकोटाले भने।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समेत सरकारको कार्यशैलीले राजतन्त्र पक्षधरहरूलाई सडकमा ल्याएको हुनसक्ने टिप्पणी गरेका छन् । ;जनता हेरिरहेका छन् । सडकमा उत्रिएकाहरू कोही बाहिरबाट आएका होइनन्,’ उनले रूपन्देहीमा आयोजित कार्यक्रममा भने ।
के भन्छ सरकार ?
ज्ञानेन्द्र शाहको स्वागतमा सडकमा ठूलो भिड देखिनुलाई दबावको रुपमा नलिएको सरकारले बताएको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादीहरूको गतिविधिबाट कुनै दबाव महसुस नगरेको बताएका हुन् ।
यसलाई उनीहरूले आफ्नो लोकतान्त्रिक अभ्यास गरेको रूपमा बुझेको उनले बताए । ‘यस्ता र्यालीहरूले उग्र रूप लिँदै गएमा त्यसको प्रतिवाद कसरी गर्ने भन्ने सोच्न सकिन्छ । तर हामीले कुनै दबाव महसुस गरेका छैनौँ,’ उनले भने, ‘नेपालमा राजतन्त्र फर्कने कुनै पनि सम्भावना छैन । प्रचण्ड कमरेड, सम्माननीय प्रधानमन्त्रीविरुद्धको नाराबाजी नियोजित छ । त्यो निश्चित योजनाअनुरूप भएको कुरा हामीले बुझेका छौँ र त्यहीअनुरूप नै हेरेका छौँ ।’
राप्रपाका नेताहरूले गणतन्त्रवादी र राजतन्त्रवादीहरू नवीन समझदारीमा जानुपर्ने माग गरिरहेका पाइन्छन् । तर मन्त्री गुरुङ भन्छन्, ‘राजतन्त्रका विषयमा कुनै पनि कुरा हुँदैन ।’ राजनीतिक रूपमा संवेदनशील मानिएको राजतन्त्र पुनर्स्थापनाको विषय फेरि चर्चामा आउनु सरकारका लागि चुनौती बन्ने कतिपयको बुझाइ छ ।








