युक्रेनभन्दा रुससँग काम गर्न सजिलो : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेन-रुस युद्ध अन्त्यका लागि मध्यस्थता गर्ने क्रममा किएभसँगको सम्वाद अपेक्षाकृत जटिल भइरहेको बताएका छन् । ह्वाइटहाउसमा पत्रकारहरूसँगको कुराकानीमा उनले रुससँगको सम्बन्ध तुलनात्मक रूपमा सहज देखिएको र किएभसँगको सम्वाद अपेक्षाकृत कठिन भइरहेको उल्लेख गरे ।

यही प्रसङ्गमा ट्रम्पले युक्रेनसँग युद्धविराम नभएसम्म रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउने विषयमा गम्भीर रूपमा सोचिरहेको बताए । यसैबीच, डोनेत्स्क क्षेत्रमा भएको रुसी हमलामा कम्तीमा १४ जना मारिएको युक्रेनी अधिकारीहरूले पुष्टि गरेका छन् । साथै, अमेरिकाले भूउपग्रहबाट प्राप्त हुने केही तस्बिरहरूको पहुँचमा अस्थायी प्रतिबन्ध लगाएको छ, जसले युक्रेनको जासुसी क्षमतामा असर पार्ने देखिन्छ ।

ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको चर्काचर्की संवाद भएको एक सातापछि यी घटनाहरू देखा परेका हुन् । सार्वजनिक रूपमा भएको भनाभनपछि ट्रम्पले युक्रेनलाई सबै प्रकारको सैन्य र गुप्तचर सहायता स्थगित गरेका थिए । त्यसको प्रतिक्रिया स्वरूप, बिहीवार राति रुसले युक्रेनी ऊर्जा पूर्वाधारमाथि ठूलो क्षेप्यास्त्र र ड्रोन हमला गर्यो ।

ट्रम्पले युक्रेनमाथि रुसी हमलाको तीव्रता बढ्दै गएको बताए । तर, केही घण्टापछि उनले जोसुकै भए पनि पुटिनको स्थानमा उस्तै निर्णय लिने दाबी गरे । ‘पुटिन युक्रेनलाई पहिल्यैभन्दा तीव्र रूपमा हमलागर्न थालेका छन्,’ उनले भने, ‘तर त्यो भूमिका अरू कसैले लिए पनि उस्तै निर्णय लिन सक्थे ।’

उनले पुटिन युद्ध अन्त्य गर्न चाहन्छन् भन्ने विश्वास व्यक्त गरे, तर युक्रेन त्यसका लागि तयार छ वा छैन भन्नेबारे अनिश्चितता प्रकट गरे । ‘म चाहन्छु कि युक्रेन शान्तिको लागि काम गरोस्, तर उनीहरू साँच्चै चाहन्छन् कि छैनन्, त्यो स्पष्ट छैन,’ ट्रम्पले भने ।

उनको सोझो कूटनीतिक शैलीले नेटो साझेदारहरूलाई आश्चर्यचकित पारेको छ । पश्चिमी विश्वले सन् २०२२ पछि रुससँगको आधिकारिक संवाद सीमित पारेको थियो । यद्यपि, पछिल्ला केही दिनमा ट्रम्प प्रशासनका अधिकारीहरू युक्रेनसँगको सम्बन्ध सुधार्न इच्छुक देखिएका छन् ।

अमेरिकी अधिकारीहरू युक्रेनले खनिज सम्झौतामा अमेरिका सहभागी गराओस् र मस्कोसँग युद्धविरामका लागि सहमत होस् भन्ने चाहन्छन् । जेलेन्स्की भने युक्रेनको सुरक्षा सुनिश्चितता पहिलो प्राथमिकता भएको बताउँदै आएका छन्। ट्रम्पले सुरक्षा सुनिश्चितताको विषय पछि छलफल गर्न सकिने बताएका छन् ।

यसैबीच, अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी म्याक्सरका अनुसार वासिङ्टनले केही उच्च-गुणस्तरका भूउपग्रह तस्बिरहरूको आपूर्तिमा अस्थायी प्रतिबन्ध लगाएको छ । यस्ता तस्बिरहरू युद्धका बेला सामरिक दृष्टिले महत्त्वपूर्ण मानिन्छन् ।

आगामी साता ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरू साउदी अरबमा जेलेन्स्कीका प्रतिनिधिसँग वार्ता गर्न लागिरहेका छन् । युक्रेनी राष्ट्रपतिमाथि युद्धविराम सम्झौताका लागि दबाब बढ्ने अपेक्षा गरिएको छ । जेलेन्स्कीले वार्ता सार्थक हुने विश्वास व्यक्त गर्दै युक्रेन सक्दो चाँडो शान्तिको लागि तयार रहेको र ठोस कदम चाल्न तयार रहेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =