कृषि क्षेत्र क्रमश: आधुनिकीकरणतर्फ अग्रसर भइरहेको छ : कृषिमन्त्री

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कृषि क्षेत्र परम्परागत तथा निर्वाहमुखी खेती प्रणालीबाट क्रमशः आधुनिकीकरण तथा व्यवसायीकरणतर्फ अग्रसर भइरहेको बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गरेका कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिँदै उनले नेपालको संविधान २०७२ को मर्मअनुसार संघ, प्रदेश र स्थानीय तहबाट कृषि तथा पशुपन्छी विकासका कार्यक्रम सञ्चालन हुँदै आएको बताए ।
स्वदेशमै खाद्यान्न, फलफूल, दूध, अण्डा, मासु र तरकारी आदिमा प्रशस्त उत्पादन गरेर विदेशी आयात निरुत्साहित पार्ने तथा देशलाई आत्मनिर्भर बनाउनेतर्फ कस्तो योजना छ ? भन्ने प्रश्नको जवाफमा उनले कृषि क्षेत्रको यान्त्रिकीकरण तथा व्यवसायीकरणसँग सम्बन्धित कार्यक्रमबाट विभिन्न खाद्यान्न, तरकारी, फलफूललगायत बालीको उत्पादन तथा उत्पादकत्व वृद्धि भएको बताए ।
चालु आर्थिक वर्षमा धानको उत्पादन गत आवकोभन्दा दुई लाख ३१ हजार मेट्रिक टनले बढेर कूल ५९ लाख ५५ हजार मेट्रिक टन भएको उनले जानकारी दिए ।
मन्त्री अधिकारीले भने,“कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि मन्त्रालय तथा मातहतका निकायबाट रासायनिक मलको सहज आपूर्ति तथा वितरण, उन्नत बीउबिजनको उत्पादन तथा उपलब्धता, जातीय विकास तथा प्रविधि प्रवर्द्धन, रैथाने बाली, पशु तथा कृषि जैविक विविधता संरक्षण एवं प्रवर्द्धन, बालीले ढाकेको क्षेत्र विस्तार, सिञ्चित कृषि क्षेत्रको विस्तार, कृषि उत्पादन तथा व्यवसाय विकासका लागि अनुदान र सहुलियत प्रदान गरिएको छ ।”
उनले प्रमुख कृषि पूर्वाधारहरूको निर्माण, पशु नश्ल सुधार, पशुपन्छी रोग नियन्त्रण तथा खोप कार्यक्रम, खाद्यवस्तुको मापदण्ड तयारी तथा बजार अनुगमन र नियमनलगायत कार्यक्रमलाई नियमित रुपमा सञ्चालन भइरहेको पनि बताए ।
“कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट बाली लगाउनुपूर्व नै मुख्य बाली वस्तुहरूको न्यूनतम समर्थन मूल्य तोक्ने, रासायनिक मलको सहज आयात तथा वितरण व्यवस्थापन, पशुपन्छीमा लाग्ने रोगविरूद्ध खोप कार्यक्रम, कृत्रिम गर्भाधान सेवा, कृषि बिमा र किसान सूचीकरणको दायरा विस्तारलगायतका प्रमुख कार्यक्रममा महत्वपूर्ण उपलब्धिहरू हासिल भएका छन्”, मन्त्री अधिकारीले भने ।
उत्पादकत्व ३ दशमलव ९८ मे टनप्रति हेक्टरबाट बढेर ४ दशमलव १९ मे टन पुगेको छ । ताजा तरकारी र फलफूलको क्षेत्रफल र उत्पादन तथा उत्पादकत्वसमेत बढ्दै गएको उनको भनाइ छ ।
मन्त्री अधिकारले हाल बाहै्र महिना ताजा तरकारी उपलब्धता तथा स्याउ, सुन्तला, केरा र आँपजस्ता प्रमुख फलफूलहरूको उत्पादनको हिस्सा स्वदेशी बजारमा बढ्दै गएको र पशुपन्छीजन्य उत्पादनमा देश आत्मनिर्भरतातर्फ अघि बढिरहेको बताए ।
आर्थिक वर्ष २०८०र८१ को तथ्याङ्कअनुसार दूध उत्पादन २६ लाख १६ हजार मे टन, माछा एक लाख १९ हजार मे टन, मासु चार लाख ३१ हजार मे टन र अण्डा एक अर्ब ६० करोडभन्दा रहेको उनले बताए ।
“संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनले सिफारिस गरेअनुसार प्रतिव्यक्ति प्रतिवर्ष मासु १४ केजी, अण्डा ४८ वटा र दूध ९१ ली आवश्यक पर्दछ भने हाल मासु २१ केजी, अण्डा ५५ बटा र दूध ८९ दशमलव ६ लिटर आवश्यक हुनेमा सो को परिपूर्ति स्वदेशी उत्पादनबाट नै भइरहेको देखिन्छ”, मन्त्री अधिकारीको भनाइ थियो ।








