सिंहदरबारसहित भन्सारमा रहेका पुराना सवारीसाधनहरू यकिन गरी नष्ट गरौँ : सांसद कार्की

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सिंहदरबारसहित भन्सारमा रहेका पुराना सवारीसाधनहरू यकिन गरी सफाइ अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
मङ्गलवारको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले सुन्दर, सफा बनाउने हरेक अभियान चल्ने गरेको भन्दै सिंहदरबार र भन्सारमा वर्षौंदेखि थन्किएका पुराना सवारीसाधनहरू नष्ट गर्नसक्ने र नसक्ने यकिन गरी सफाइ सुरु गर्नुपर्ने बताए । उनले हरेक भन्सार कार्यालयहरूमा नष्ट गर्नुपर्ने धेरै सवारीसाधन लगायतका सामग्रीहरू रहेको भन्दै सफाइ गर्नका लागि विधेयकमा आवश्यक व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
उनले भने ‘अहिले सुन्दर, सफा बनाउने हरेक अभियान चल्छन् तर सिंहदरबारमा यति धेरै हाम्रा पुराना गाडीहरू छन् । वर्षौँदेखिका गाडीहरू छन् । अब म पनि अर्थमन्त्री भइसकेको छु । यो हटाउनलाई केले रोकेको छ रु हरेक भन्सार कार्यालयहरूमा धेरै नष्ट गर्ने कुराहरू छन् । त्यो हुन सकेको छैन । यसलाई अन्त्य गर्न के गर्दा उपयुक्त हुन्छ । त्यो गरौँ । भन्सारमा नष्ट गर्न सकिने र नसकिने सामानहरूको यकिन गरेर कसरी यसलाई सफाइ गर्नसक्छौँ त्यस दिशामा पनि छलफल गरौँ ।’
समितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद डा। प्रकाशशरण महतले भन्सार व्यवस्थालाई अझ व्यवस्थित गर्न जरुरी रहेको बताए । उनले भन्सारहरू अझ पारदर्शी र व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले व्यापार, आन्तरिक उत्पादन वृद्धि गरी आयातलाई निरुत्साहित गर्नेकुरामा जोड दिनुपर्ने बताए ।
उनले भने ‘जुन हाम्रो भन्सार व्यवस्था छ, त्यो हामीलाई पनि लागिरहेको छ अझ व्यवस्थित हुनुपर्ने हो । अझ ट्रान्सपरेन्स हुनुपर्ने हो । जसले जिम्मेवारी लिइरहेको छ । तिनीहरू थप जिम्मेवार हुनुपर्छ । हाम्रो विद्यमान ऐनमा त्यो जिम्मेवार हुने कुरामा र व्यवस्थित हुनेकुरामा अझ सुधार गर्ने आवश्यक छ । शब्दमाथि शब्द थप्ने कुरा मात्रै मुख्य होइन । व्यापार वृद्धि, आन्तरिक उत्पादन वृद्धि गर्ने कुरा भन्सार दर जुन आयात प्रवर्द्धन गर्न खोजेका छौँ की आन्तरिक उत्पादन प्रवर्द्धन गर्न खोजेका छौँ । आयातलाई निरुत्साहित गरेर आन्तरिक उत्पादन बढाउने कुरामा हामी अघि बढ्नुपर्छ ।’
पूर्वअर्थमन्त्री महतले आयातलाई निरुत्साहित गरेर आन्तरिक उत्पादन बढाउने कुरामा सरकार अघि बढिरहेको बताए ।








