अस्तव्यस्त बबरमहल क्षेत्र (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको बबरमहल क्षेत्रमा फुटपाथ सुधारको काम अस्तव्यस्त भएको छ । बिजुलीका तार भूमिगतका साथै फुटपाथ मर्मत र विस्तारको काम अहिले रोकिएको हो ।

पैदल यात्रीलाई सहज बनाउन सुरु गरिएको यो योजना निर्माणका क्रममा रोकिन पुगेपछि अहिले पैदल यात्रुहरूलाई बाटो हिँड्न समस्या भएको हो ।

सडक विभागले फुटपाथ सुधारका लागि पुरानो संरचना भत्कायो, तर निर्माण कार्य महिनौँदेखि अलपत्र छोडिएको छ । बबरमहलमा पैदल यात्रुहरूको अत्यधिक चाप हुने क्षेत्र पनि हो ।

यो खण्ड सिंहदरबार र जिल्ला अदालतको नजिकै पर्छ, जहाँ नीति–निर्मातादेखि उच्च पदस्थ अधिकारीहरूको नियमित आवतजावत हुन्छ ।

बबरमहल खण्डमै सडक विभागको कार्यालय छ । जहाँबाट सडक मर्मत तथा निर्माणको योजना निर्माण हुन्छ ।

आफ्नै चोकको हालत दयनीय हुनु दुर्भाग्यपूर्ण बनेको छ । यसै सडकमा जिल्ला अदालत पनि छ, जहाँ न्याय माग्न आउने नागरिक दिनहुँ आउजाउ गर्छन् । तर, फुटपाथको अवस्था भने नाजुक छ । फुटपाथ निर्माण अलपत्र बने पछि पैदल यात्रुहरू सडकको छेउछाउबाट हिँड्न बाध्य भएका छन् ।

नेपाल विद्युत प्राधिकरणले बबरमहल क्षेत्रमा भूमिगत तार बिच्छ्याउने काम गरिरहेको छ । यो काम अत्यावश्यक भए पनि निर्माणका क्रममा हुने ढिलाइले सडक सुधारका अन्य कामलाई समेत प्रभावित पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eighteen =