लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिको हत्या, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको सुकेधारामा हत्या भएको अवस्थामा भेटिएका ५० वर्षीय अड्विर राईको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, दोलखाको मेलुङ्ग गाउँपालिका-६ निवासी २९ वर्षीय विराट शाही ठकुरीलाई शुक्रबार नियन्त्रणमा लिइएको हो ।
ठकुरी बा ४ ख ५९९३ नम्बरको गाडीमा सहचालकका रूपमा कार्यरत थिए । प्रहरी स्रोतका अनुसार उनी भक्तपुरको सल्लाघारी क्षेत्रमा लुकेर बसेको अवस्थामा फेला परेका थिए । काठमाडौं प्रहरीका एसपी अपिलराज बोहोराले घटनासँग सम्बन्धित एक जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको बताए । शनिबार उनलाई जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराई कर्तव्य ज्यानको कसुरमा अनुसन्धानका लागि म्याद थप्ने तयारी गरिएको छ ।
अड्विर राईको शव बुधबार राति सुकेधारास्थित धोबीखोला करिडोर नजिक फोहोरले छोपिएको अवस्थामा भेटिएको थियो । प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी निरञ्जन थापाको नेतृत्वमा पुगेको टोलीले शव सुरक्षित रूपमा निकालेर प्रारम्भिक अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार, मृतकको टाउको, निधार र नाकमा धारिलो हतियार प्रहार भएको देखिन्छ । शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।
मृतक राई लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्ति रहेको पुष्टि भएको छ । उनको हत्या प्रकरणमा सत्यतथ्य बाहिर ल्याउन ‘मायाको पहिचान नेपाल’ लगायतका संस्थाहरूले गम्भीर छानबिनको माग गरेका छन् ।








