सांस्कृतिक एवम् धार्मिक सम्पदाको यथोचित संरक्षण गरौं : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिवरात्रीको पालनाले योग र मोक्ष दुवैको प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको बताएका छन् । महाशिवरात्री पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भन्ने कामना गरेका हुन् ।
महाशिवरात्रीको अवसरमा पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका सांस्कृतिक एवम् धार्मिक सम्पदाहरूको यथोचित संरक्षण एवम् संवर्द्धन गर्न प्रण गर्नुपर्ने उनको भनाई छ । ‘हामीले पाएका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु हाम्रो दायित्व हो । काठमाडौँ उपत्यकाको जलाधारको रूपमा रहेको बागमती नदीलाई स्वच्छ र सफा राख्नु हामी सबैको दायित्व हो,’ उनले भने ।
राष्ट्रपति पौडेलले मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई महाशिवरात्रीले बेजोड रूपमा प्रकट गरिरहेको उल्लेख गरे । ‘वैदिक परम्परामा शिवलाई मूलत: संहारका शक्ति मानिएको भएतापनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित छन्, जसले प्रकृतिको सिर्जनात्मक एवम् संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गर्दछन् । सौम्य शक्तिले मानव चेतनामा असल पक्षको बोध गराई त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यं शिवं सुन्दरम्’ प्राचीन लोकोक्तिका रूपमा रहेको छ । रौद्र शक्तिले खराब रोजाईबाट उत्पन्न परिणामलाई दण्डित गर्दछ ।’ उनले भने,‘मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई हाम्रा अनेक सांस्कृतिक चाडपर्व जस्तै महाशिवरात्रीले पनि बेजोड रूपमा प्रकट गरिरहेको पाइन्छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा एवम् शिव महिमा कीर्तन शिवरात्री पूजा अर्चनाका मुख्य अंग मानिन्छ भने शिवरात्रीको पालनाले योग र मोक्ष दुवैको प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहि आएको छ ।’
नेपालभूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइने सन्देशमा उल्लेख छ। ‘पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दुहरूको लागि पनि गौरवको विषय हो । हाम्रो मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिविम्बित भएको पाइन्छ ।’ शुभकामनामा भनिएको छ,‘आराध्यदेव श्री पशुपतिनाथ एवम् किरातेश्वर महादेवलाई साक्षात् शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुहरूका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको छ भन्ने मलाई लागेको छ ।’








