सरकारका उद्देश्यहरु पूरा हुन नदिन सत्ताबाहिरका पार्टीहरु लागेका छन् : सांसद यादव

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मुलुकमा राजनीतिक स्थिरता कायम गर्दै सुशासन कायम गर्नु र संविधान संशोधन वर्तमान सरकारको उद्देश्य रहेको समेत बताएका छन् ।
मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले सरकारका उद्देश्यहरु पूरा हुन नदिन सत्ताबाहिरका पार्टीहरु लागिपरेको समेत बताए ।
कानून निर्माणमा ढिलाई हुँदा जनतामाथि अन्याय भइरहेको उनले बताए । यस्ता कानून निर्माण सुस्त गतिमा हुँदा जनताले पाउनुपर्ने सेवा सुविधा समेत पाउन नसकेको उनले बताए ।
उनले जनतालाई प्रभावकारी सेवा दिनका लागि कानून निर्माणमा जोड दिँदै विधेयक छिटो छरितो रुपमा पारित गर्नुपर्ने बताए । उनले प्रहरी समायोजन ऐन, शिक्षा विधेयक र संघीय निजामति सेवा विधेयकलाई छिटो टुंगोमा पुर्याउनुपर्ने बताए ।
उनले भने,‘संसदको मुख्य काम भनेकै कानून निर्माण गर्नु हो । हामी कानून निर्माण अति सुस्त गतिमा गरिराखेका छौं । जनताका लागि अति आवश्यक कानून समयमा निर्माण नहुँदा जनताले न्याय पाउँदैन । पाउनुपर्ने आवश्यक सेवा सुविधा पनि पाउदैनन् । तसर्थ छिटो छरितो रुपमा विधेयकहरु पारित गरौँ । जुन प्रहरी ऐन, शिक्षा ऐन र निजामती कर्मचारी सेवा ऐन लगायत छन् । सत्ता गठबन्धनको मुख्य उद्देश्य हो राजनीतिक स्थिरता, सुशासन, मुलुकलाई आर्थिक गति दिने र संविधान संशोधन । र यी कुराहरु नहुन भन्नको लागि प्रमुख प्रतिपक्षी दल र सत्ता बाहिर रहेका दलहरु लागिरहेका छन् । जुन कुरा मुलुकको हितमा होइन ।’








