बाढी पहिराका कारण सुन्तला उत्पादनमा कमी

काभ्रेपलाञ्चोक । गत असोजको बाढी पहिराका कारण यस वर्ष काभ्रेपलाञ्चोकमा सुन्तलाको उत्पादन कमी भएको छ ।

अघिल्ला वर्षमा दुई प्रतिशतले कमी हुँदै आएको सुन्तला उत्पादन यस वर्ष बाढी पहिराका कारण बगैँचामा क्षति पुग्दा छ दशमलव ७० प्रतिशतले गिरावट भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लामा यस वर्ष सात हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन हुने प्रक्षेपण गरिए पनि करिब पाँच सय मेट्रिक टन कमी भएको छ ।

जिल्लाको कूल क्षेत्रफलमध्ये करिब एक हजार तीन सय हेक्टर अर्थात् ३० हजार रोपनी क्षेत्रफलमा सुन्तला लगाइएको छ ।

कार्यालय प्रमुख कुलप्रसाद दवाडीले वार्षिक करिब सात हजार मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएकामा बगैँचाको अवस्था हेरी सात हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन हुने प्रक्षेपण गरिएको बताए ।

यस वर्ष विभिन्न स्थानमा सञ्चालन गरिएको सुन्तला सुधार कार्यक्रमका कारण सुन्तला उत्पादन राम्रो हुने अपेक्षा गरिएको दवाडीले बताए ।

अघिल्ला वर्षमा भने रोगव्याधीका कारण लगातार सुन्तला उत्पादनमा दुई प्रतिशतको हाराहारीमा गिरावट हुँदै आएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्कअनुसार केही वर्ष अघिसम्म काभ्रेपलाञ्चोकमा वार्षिक ४० करोडभन्दा बढी रकम सुन्तला बिक्रीबाट भित्रने गर्दथ्यो ।

‘तुलनात्मक रुपमा चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानमा सुन्तला राम्रो फलेको किसानबाट प्रतिक्रिया आए पनि बाढी पहिराका कारण बगैँचामा क्षति पुग्दा यस वर्ष पनि गिरावट भएको हो’, दवाडीले भने ।

उनका अनुसार कतिपय स्थानमा सुन्तला बगैँचा नै बगाएको छ । सुन्तला उत्पादनका लागि जिल्लाको पनौती, धुलिखेल र नमो बुद्ध नगर तथा बेथानचोक गाउँपालिकालाई विशेष पकेट क्षेत्रका रुपमा मानिने गरिन्छ ।

बाढी पहिरोले पकेट क्षेत्रअन्तर्गत नमो बुद्ध, बेथानचोक, सुन्थान तथा कुशादेवी क्षेत्रमा सुन्तलाको बगैँचा बगाएको कार्यालयले जनाएको छ । ‘क्षतिको विवरण आइरहेको छ, यकिन तथ्याङ्क आउन बाँकी छ’, दवाडीले भने ।

बेथानचोक–४ सञ्जेल गाउँका किसान शङ्कर सञ्जेलको एक सय ५० सुन्तलाको बोटमध्ये एक सय बोट बाढीले बगायो । यस वर्ष राम्रो आम्दानी हुने आशामा बस्नुभएका सञ्जेलले गत असोजमा आएको बाढी पहिराले बगैँचामा क्षति पु¥याउँदा अपेक्षा गरिएअनुसार आम्दानी गर्न नसकेको बताए ।

सोही गाउँपालिका–४ हाड डोलको कान्छी कोइरालाको २५ रोपनीमा लगाएको तीन सय बोट सुन्तलामध्ये फलिरहेका करिब ५० बोट बगाएको सो वडाले जनाएको छ ।

यस्तै सोही वडाका कृष्णबहादुर लामाको एक सय १२ बोटमध्ये २८ सुन्तलाका रुख यसपालि पहिरोले बगाएको छ । गाउँपालिका कार्यालयका अनुसार बाढी पहिरोबाट पालिकाभर एक सय १४ रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटमा क्षति पुगेको जनाएको छ ।

त्यस्तै नमो बुद्ध–९ स्थित डाँडा गाउँमा प्रेम लामाको पाँच रोपनीमा लगाएको एक सय ३५ बोट सुन्तलामध्ये पहिरोले १७ वटा सुन्तलाका रुख बगायो । नमो बुद्धको १, २, ८, ९, १० र ११ नं वडास्थित करिब १३ हेक्टरमा गरिएको सुन्तलाखेतीमध्ये बाढी पहिराले छ हेक्टर क्षेत्रफलको सुन्तलामा क्षति पुग्नुभएको नगर कार्यालयको प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।

गत वर्षको चैतदेखि जिल्लामा सुन्तला जोगाउन किसान जागरण अभियान तथा सुन्तला सुधार कार्यक्रमले सुन्तलाको उत्पादन वृद्धि हुने अपेक्षा गरिएको थियो ।

सुन्तला प्रवर्धन कार्यक्रमअन्तर्गत बगैँचाका बोट सुक्ने, मर्ने, फलको गुणस्तरमा कमी आउनेजस्ता समस्या किसानले भोग्नु नपरोस् भनी जागरूक गराइन्छ ।

सुरुमा सुन्तलाको बगैँचाबाट राम्रो उत्पादन हुने तर केही वर्षपछि उत्पादन घट्ने र बगैँचा अनुत्पादित भएर बोट मर्न सक्ने भएकाले किसानलाई समयमै जानकारी गराउन विभिन्न स्थानमा तालिमको आयोजना गरिएको कृषि कार्यालय प्रमुख दवाडीले बताए ।

दवाडीका अनुसार जागरण अभियानमा बगैँचा स्थानको भौगोलिक विशेषता, स्याहारसम्भार, मलजल, रोग कीरा आदि राम्रो व्यवस्थापन गरे किसानले सुन्तला खेतीबाट राम्रो लाभ लिन सक्ने भएकाले सुन्तला जात फलफूल बगैँचामा देखा पर्ने यस प्रकारको समस्याका कारण यस क्षेत्रमा किसान सचेतीकरण र उपचार गर्न जागरण कार्यक्रम अघि सारिएको थियो ।

सुन्तलाको फल झर्ने समस्या न्यूनीकरणका लागि किसानलाई किटनाशक औषधि र बिरुवाका लागि ‘प्रोटिन–ब्रेट’समेत वितरण गरिएको थियो ।

यस्तै कार्यालयले पछिल्ला वर्षसम्म सुन्तलाका लागि प्रख्यात काभ्रेपलाञ्चोकको सुन्तला बगैँचामा स्थलगत अनुगमनका क्रममा ‘सूक्ष्म खाद्यत्व’को अभाव देखिएको पाइएपछि जिल्लास्थित सुन्तला पकेट क्षेत्रका बगैँचामा पुर्नजाग्रित गराउन विभिन्न स्थानका पुरानो बगैँचामा सुन्तलाको बोटमा उपचार गरेको थियो ।

पुराना बोट भए पनि समस्याग्रस्त सुन्तला बगैँचाका सुन्तलाको बोट काटेर नष्ट गर्नुको सट्टा सामान्य काँटछाँट गर्ने, एजेरु हटाउने र चुन तथा निलोतुथोको प्रयोग गरी पुराना बोटलाई उत्पादनशील अवस्थामा फर्काउन पुराना सुन्तला बोटको उपचार गरिएको दवाडीले बताए ।

कार्यालयका अनुसार सुन्तला बोटको उपचारअघि जिल्लाभर करिब २० प्रतिशतमा औँसा कीराको प्रकोप देखिएको थियो । सुन्तला किसानका अनुसार सो प्रकोपका कारण बोटमा रहेका सुन्तलामध्ये १० प्रतिशत जति कुहिएर झन् गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + twenty =