बालेनको फेसबुकबाट हट्यो एमाले सांसदबारे लेखेको स्टाटस

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले एमाले प्रदेश सांसदको फोटोसहित लेखेको स्टाटस हटाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकबाट बहालवाला प्रदेश सांसदको फोटोसहित बालिकालाई हिंसा गरेको भन्दै फेसबुकमा लेखेका थिए । तर, उक्त पोष्ट उनले हटाएका छन् ।
सांसद रेखा शर्माले ८ वर्षदेखि घरेलु कामदार राखेर हिंसा गरेको भन्दै बालेनले आइतबार फेसबुकमा स्ट्याटस लेखेका थिए ।
उनले काठमाडौं महानगरले समात्नभन्दा पनि सरकारले केही नगरेको र मुद्दा चलाउन भने पनि बेवास्ता गरेको उल्लेख गरेका थिए ।
प्रधानमन्त्री केपी ओलीलाई नै सम्बोधन गरेर हिंसा गर्ने सांसदलाई समाउने कि नसमाउने ? भनेर बालेनले प्रश्न समेत गरेका थिए ।
बालेनको उक्त स्टाटसपछि एमालेका कार्यकर्ताले बालेनको प्रतिवाद गरेका थिए । आलोचना बढ्दै गएपछि बालेनले उक्त स्ट्याटस हटाएको एमालेका नेताहरू बताउँछन् ।
यता, बालेनको सचिवालयले भने उक्त पोष्ट बालेनले नहटाएको जिकिर गरेको छ । उनको सचिवालयले फेसबुकले नै उक्त पोष्ट हटाएको र रिकर्भर गर्ने प्रयास भईरहेको बताएको छ ।








