तनहुँ बस दुर्घटनामा बेपत्ता एक जनाको खोजीकार्य जारी
२०८१ भदौ ८ गते

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता एक जनाको खोजीकार्य जारी छ ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बरप्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा बेपत्ता भएका २२ वर्षीय गोकर्णी सन्दीप सरोदेको खोजी जारी रहेको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।
दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । घाइतेको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको डिएसपी रायले बताए । बेपत्ता भएका सरोदेका बुबाआमाको सोही दुर्घटनामा परी मृत्यु भएको छ ।
घाइतेहरूले दिएको विवरणका आधारमा उनी फेला नपरेको प्रहरीको भनाई छ । बस खसेको ठाउँ आसपास खोजी गरिए पनि उनी फेला पर्न सकेका छैनन् ।
२०८१ भदौ ८ गते
प्रतिक्रिया
सम्बन्धित








