यो भ्रष्टाचारीहरूको सरकार हो : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरूको सरकार भएको बताएका छन् ।

शनिवार काठमाडौं–नुवाकोट सम्पर्क समन्वय समितिको जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरूको सरकार भएको बताएका हुन् ।

उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको एकपछि अर्को फाइल खोल्न थालेपछि आफ्नो पालो आउने डरमा तत्कालीन सरकार ढालेर वर्तमान सरकार बनाइएको बताए । उनले यो सरकार दलाल, पुँजीपतिहरू, बिचौलियाहरू, कमिसनखोरहरु, जाली, फटाहाहरूको प्रतिनिधिको रुपमा रहेको बताए । उनले आफू समातिने हुँ कि भनेर भ्रष्टाचारीहरूमा पैदा भएको डरका कारण यो सरकार बनेको बताए । उनले भ्रष्टाचारीहरूको रक्षाको निम्ति यो सरकार बनेको जिकिर गरे ।

उनले भने – ‘जब हामीले भ्रष्टाचारको विरुद्ध एकपछि अर्को फाइल खोल्दै गयौँ । जब हामीले सुशासनको पक्षमा आफ्नो अभियान अगाडी बढाउँदै लग्यौँ । जब हामीले सामाजिक न्यायको पक्षमा, उत्पीडित वर्ग, समुदायको पक्षमा अगाडी बढाउँदै लग्यौँ । आर्थिक संकट समाधान गर्नको निम्ति एकपछि अर्को निर्णय गरेर आर्थिक समस्याको समाधान गर्दै लग्यौ । तब यो देशका दलालहरू, बिचौलियाहरूमा छटपटी पैदा भयो । तिनीहरू भित्र आतङ्क पैदा भयो । माओवादी ३२ सिटको भएर पनि हामीलाई चुनौती दिइराखेको छ । हाम्रो वर्गलाई । दलाल पुँजिपतिहरुलाई चुनौती दिएको छ माओवादीले । नोकरशाहहरुलाई चुनौती दिएको छ । सामन्त र निरंकुशतावादीहरुलाई चुनौती दिएको छ भनेपछि ती बिचौलियाहरू र त्यो दलाल पुँजीपति र नोकरशाही पुँजीपति वर्गहरू आतंकित भए । त्यसकारण उनीहरुले हरहालतमा यो सरकारलाई हटाउनै पर्छ भनेर यो तपाईँहरूले देख्दाखेरि त नेपाली काँग्रेस र एमाले नेताहरूले मिटिङ गरेर माओवादी नेतृत्वको सरकार हटाए भन्ने देखिन्छ रुपमा । सार चाहिँ यो देशका दलाल, पुँजीपतिहरू, बिचौलियाहरू, कमिशनखोरहरु, जाली, फटाहाहरूले तिनीहरूलाई आफ्नो प्रतिनिधिको रुपमा सिङ्गारपट्टार गरेर यो सरकार बनाइएको हो । त्यसकारण यो भ्रष्टाचारीहरूकै सरकार हो । यो भ्रष्टाचारीहरूकै रक्षाको निम्ति बनाइएकै सरकार हो । भ्रष्टाचारीहरूमा पैदा भएको डरका कारणले यो सरकार बन्यो । त्यसकारण यो सरकारलाई भन्न सकिन्छ, डर छेरुवाहरूको सरकार हो । जब केही फरार अभियुक्तहरू गिरफ्तार भए । उनीहरूमा खैलाबैला मच्चिए । अब हाम्रो पालो पनि आउनै लाग्यो भन्ने ठानेपछि मात्रै यो सरकार बनेको हुनाले यो भ्रष्ट, डर छेरुवाहरूकै सरकार हो । यो भन्न केही डराउनुपर्ने आवश्यकता छैन ।’

अध्यक्ष दाहालले सरकारसँग भएको दुई तिहाइले केही नगर्ने बताए । जनताको आकांक्षा र जनभावना विपरीत गएमा दुई तिहाइ बहुमतलाई जनताले ठेगान लगाइदिने उनको भनाई छ । उनले अहिले उत्पीडित जनताले पाएको अधिकारहरू माओवादीले ल्याएको भन्दै दुई तिहाइवालाहरूले दिएको अधिकार नभएको बताए ।

उनले आफूहरूले संविधान संशोधन गरेर नेपाललाई पछाडि फर्काउन नदिने बताए । उनले आफूहरू जीवित हुँदासम्म दुनियाँको कुनै तागतले पनि संविधान संशोधन गर्न नसक्ने दाबी गरे । अध्यक्ष दाहालले माओवादी केन्द्रलाई कसैले फुटाउन नसक्ने बताए । उनले फुटेर गएका माओवादी शक्तिहरुपनि एकताबद्ध हुने प्रक्रियामा रहेको उल्लेख गर्दै छिट्टै एकताबद्ध भइसक्ने बताए ।

उनले भने – ‘उनीहरूको दुई तिहाइले केही गर्नेवाला छैन । बङ्गलादेशमा भर्खरै एउटा घटना आयो । ५/७ महिना अघि शेख हसिनाको पार्टीले एक्लै दुई तिहाइ बहुमत ल्याएको थियो । के ग¥यो दुई तिहाइ बहुमतले  ? केही गर्दैन । जनताको इच्छा, जनताको आकांक्षा, जनभावना विपरीत गयो भने त्यस्ता दुई तिहाइ बहुमत जनताले ठेगान लगाउँछन् । जनयुद्धलाई दमन गर्नेबेला दुई तिहाइ थियो नि तपाईँहरूको । सक्नुभयो जनयुद्धलाई दमन गर्न  ? सक्नुभएन । म कुनै आवेगमा भन्दै छैन । म आम नेपाली जनतासँग, नेपालका सबै उत्पीडित, मजदुर, किसान, महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारु, मुस्लिम सबैसँग । किनकि तपाईँहरूले अहिले जे–जति अधिकार प्राप्त गर्नुभएको छ । त्यो ३२ सिटेकै कारण प्राप्त गर्नुभएको हो । दुई तिहाइवालाले दिएको होइन । अहिले दुई तिहाइको धम्की दिनेहरूले ल्याएको परिवर्तन होइन । खबरदार जाली, फटाहाहरू, संविधान संशोधन गर्ने रे । पछाडि फर्काउने रे नेपाललाई । असम्भव । जबसम्म हामी यहाँ जीवित छौँ, दुनियाँको कुनै तागतले यसलाई परिवर्तन गर्न सक्दैन । हाम्रो तीनवटा प्रदेशको बैठक सकियो । म तात्तातो तपाईँहरूलाई भन्दैछु । कसैले हाम्रो पार्टी फुटाउन सक्दैन । हिल्याउन सक्दैन । बरु हेर्नुहोला, केही समयपछि फुटेर गएका बाँकी रहेका माओवादीहरू पनि एकताबद्ध हुन्छन् । माओवादी आन्दोलन एकताबद्ध गरेर हामी अगाडी बढ्छौँ । यही हाम्रो लक्ष्य हो । हाम्रो पार्टी फुटाउने षड्यन्त्र त प्रतिक्रियावादीहरुले जनयुद्धका बेला पनि गरे । पछि पनि गरेकै हुन् । केही साथीहरू विभाजित भएर जानु पनि भएको हो । धेरैजसो फर्केर हामी एकताबद्ध भयौँ । बाँकी रहेकासँग पनि एकता, वार्ता चलिराखेको छ । छिट्टै हामी एकताबद्ध हुने प्रयासमा अगाडी बढिराखेका छौँ ।’

उनले जनताको घर–आँगनमा गए २०६४ सालको जस्तै मत ल्याउन सकिने भन्दै आगामी निर्वाचनमा माओवादी केन्द्रलाई सबैभन्दा ठूलो दल बनाउनेगरी लाग्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =