वर्तमान सरकार डेलिभरी दिनकै लागि बनेको हो : गृहमन्त्री लेखक (भिडिओ)

काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार जनतालाई डेलिभरी दिनका लागि बनेको बताएका छन् ।

सिरहा र धनुषामा आयोजना हुन लागेका विभिन्न कार्यक्रमहरुमा सहभागी हुन बिहीवार बिहान जनकपुर पुगेका उनले यस्तो बताएका हुन् ।

उनले मुलुकमा शान्ति, सुव्यवस्था, विधिको शासन कायम हुने बताए । उनले संविधानको कार्यान्वयन, समावेशितालाई थप सुदृढ गर्ने, विकास निर्माणका कामहरुलाई दु्रत गति दिने उद्देश्यका साथ नयाँ समीकरण बनेको बताए ।

उनले सरकार मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति गर्ने दिशामा अघि बढेको दाबी गरे ।

‘यो सरकार डेलिभरी गर्नका लागि बनेको सरकार हो, डेलिभरी हुन्छ, उनले भने,‘मुलुकमा शान्ति, सुव्यवस्था, विधिको शासन कायम हुन्छ ।’

उनले गृहमन्त्री लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानून संशोधन हुनेगरी नयाँ कानून बनाउन लागिएको पनि जानकारी दिए ।

नयाँ प्रहरी कानून बनाउन मन्त्रालयबाट निर्णय गरी अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमति पछि संसदमा पेश हुने बताए ।

प्रहरी सम्बन्धी संघीय ऐनमा संशोधन परिमार्जन गरेर प्रहरीको समायोजन र प्रदेश प्रहरी गठन र समायोजनका कामहरु हुने उनको दाबी छ ।

‘संघको प्रहरी कानून संशोधन गर्ने गरेर नेपाल प्रहरी ऐन, २०१२ मा आवश्यक संशोधन गर्ने, परिमार्जन गर्ने, नयाँ कानूनी, नयाँ बनाउने गरेर मैले मन्त्रालयबाट निर्णय गरेर अघि बढाइसकेको छु । त्यो अर्थ मन्त्रालयमा गएको छ,’उनले भने,‘विभिन्न मन्त्रालयहरुको सहमति पछि यो संसदमा जान्छ र प्रहरी सम्बन्धी संघका ऐनहरुमा संशोधन, परिमार्जन गरेर हामी प्रहरीको समायोजन र प्रदेश प्रहरी पनि गठन हुने, समायोजन हुने दिशामा अघि बढ्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =