जलविद्युत्मार्फत आर्थिक समृद्धि हासिल गर्न आन्तरिक खपत बढाउनुपर्नेमा अर्थमन्त्रीको जोड

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जलविद्युत्मार्फत आर्थिक समृद्धि हासिल गर्न आन्तरिक खपत बढाउनुपर्नेमा जोड दिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र उपाय नामक संस्थाको संयुक्त आयोजनामा बुधवार भएको ‘अनलकिङ इन्भेष्टमेन्ट’ कार्यक्रममा उनले ऊर्जा क्षेत्रमा निजी लगानीलाई प्रोत्साहन गर्ने योजना आवश्यक रहेको समेत बताए ।

सरकारले जलविद्युत् क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको र यस क्षेत्रको विकासका लागि विदेशी लगानी ल्याउन वातावरण बनाउने उनले प्रतिबद्धता जनाए ।

“नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी ल्याउनका लागि सरकारले वातावरण निर्माण गर्नेछ । नेपालको समृद्धिका लागि जलस्रोतको उच्चतम उपयोग गर्न ऊर्जा उत्पादन र आन्तरिक खपतमा जोड दिनुपर्छ”, मन्त्री पौडलले भने, “नेपालको अधिकतम उत्पादन नेपालमै खपत हुनेगरी ठूलाठूला बहुर्राष्ट्रिय कम्पनीलाई नेपाल लगानीका लागि प्रोत्साहन गर्ने नीति सरकारले लिनेछ ।”

उनले ऊर्जा उत्पादनमा आफ्नो सम्पूर्ण समय र लगानी लगाएका ऊर्जा उद्यमीले समस्या छन् भनेर थाक्न नपाइने भन्नुहुँदै उहाँले हाल देखिएका समस्या बृहत छलफलमार्फत समाधान गर्न सकिने धारणा राखे ।

नेपालको ऊर्जा क्षेत्रमा थप प्रगति हासिल गर्न र हिउँदमा पनि अन्यत्रबाट विद्युत् आयात गर्न नपर्ने ठाउँमा नेपाललाई पु¥याउन सबैले मिलेर काम गर्नुपर्ने मन्त्री पौडेलले बताए ।

इप्पानका अध्यक्ष गणेश कार्कीले नेपाली बैंकले विदेशी लगानीका ठूला विद्युत् आयोजनामा ऋण लगानी गरेका कारण स्वदेशी आयोजनाले लगानी नपाएको धारणा राखे ।

“बैंकसँग जलविद्युत्मा गर्ने लगानीको सानो सीमा छ । विदेशी लगानीका आयोजनामा गरिएको ऋण लगानी देखाउँदै स्वदेशी जलविद्युत् आयोजनामा लगानी गर्न सीमा सकियो भन्छन् । यसले हामी स्वदेशी लगानीकर्ता मारमा परेका छौँ”, “त्यसविदेशी लगानीका आयोजनामा गरिएको लगानीलाई सीमाभन्दा बाहिर राख्ने वा विदेशी लगानीका आयोजनामा नेपाली बैंकले लगानी गर्न नपाउने व्यवस्था गर्न आवश्यक भइसकेको छ,उनले भने ।”

विद्युत् विधेयकले नेपाली निजी क्षेत्रलाई निस्तेज गर्न खोजेको, निर्माणाधीन ३० भन्दाबढी जलविद्युत् आयोजनाले आइपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएकामा लामो समयदेखि अनुमति नदिएको, स्थानीय तहबाट दोहोरो कर माग गरिएको, एक प्रतिशतमा हुने काममा २८ प्रतिशत भन्सार पु¥याइएको र सरकारले दिन्छु भनेको प्रतिमेगावाट रु ५० लाख भ्याट छुट अहिलेसम्म पनि नपाएको भन्दै अध्यक्ष कार्कीले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का नेपाल निर्देशक बाबाकर फायले आइएफसीले नेपालको निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको बताए । उनले ऊर्जा परियोजनामा लगानी गर्दै आएको र भोलिका दिनमा पनि नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउन तयार रहेको बताए ।
नेपाली बैंकले बर्सेनि रु ४०/५० अर्ब मात्रै ऊर्जामा लगानी गर्नसक्ने भएकाले स्वदेशी लगानीबाटै १० हजार मेगावाट उत्पादन गर्न ४० वर्षभन्दा बढी समय लाग्ने डोल्मा इम्प्याक्ट फण्डका कार्यकारी निर्देशक विद्यावारिधि सिग्देलले बताए ।

उनले विदेशी लगानीमा ऊर्जाको दिगो विकास गर्न सकिने र त्यसका लागि नेपाली जलविद्युत् उद्यमीले वातावरण, समाज र सुशासनमा जोड दिनुपर्ने बताए ।

आफ्नो संस्थाले विदेशी लगानी नल्याएको भए आज यो उचाइ लिन नसकिने भन्दै ऊर्जा आयोजनाले पनि विदेशी लगानी ल्याउन आवश्यक रहेको उपायका कार्यकारी निर्देशक सुमन रायमाझीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 10 =