प्रचण्डको चिन्ता- शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने बेला व्यवस्थामा नै संकट पर्ने हो की ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन ल्याउने सबै राजनीतिक दलहरू समझदारीका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयबारे सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधान जारी हुँदासम्म राजनीतिक मुद्दामा राष्ट्रिय सहमति र एकताको प्रदर्शन गरेझैँ अहिले पनि एक भएर अघि बढ्नुपर्ने बताए । उनले संविधानको कार्यान्वयनमा एक हुन नसकेको बताए ।

उनले संविधानले माग गरेको राजनीतिक संस्कार, राजनीतिक प्रणाली संस्थागत गर्ने चुनौती, जनताका असीमित आकंक्षा पूरा गर्नुपर्ने दायित्व अझै पूरा हुन नसकेको बताए । अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने बेला व्यवस्थामा नै संकट पर्नसक्ने चिन्ता व्यक्त गरे ।

अहिले समाजमा अराजकता फैल्याउने, सामाजिक, नैतिक मूल्य, मान्यताका सीमा भत्काएर सभ्यताका, संस्कारका सीमा भत्काउने प्रवृत्तिले टाउको उठाउन खोजेको बताए । एक अर्काप्रति निषेधको नभई हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताए ।

उनले भने ‘हामीले संविधान जारी हुँदासम्म जसरी राजनीतिक मुद्दामा राष्ट्रिय सहमति र एकताको प्रदर्शन गर्याैँ , यसको कार्यान्वयनमा भने हामी एक हुन सकेनौँ । संविधानले माग गरेको राजनीतिक संस्कार, राजनीतिक प्रणाली संस्थागत गर्ने चुनौती, जनताका असीमित आकंक्षा पूरा गर्नुपर्ने दायित्व अझै पूरा भएका छैनन् । संविधान जारी भएपछि भने उच्चस्तरका राष्ट्रिय सहमति आवश्यक थियो । तर त्यो जनताले अपेक्षागरेअनुसार पूरा गर्न सकिएको छैन । अहिले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने बेला व्यवस्थामा नै संकट पर्ने हो की, फेरि शान्ति सम्झौतामा हामीले गरेको सहमतिमै धरापमा पर्ने हो की भन्ने प्रश्न पनि छ ।’

अध्यक्ष दाहालले संविधानको रक्षा जनताका उपलब्धिको रक्षा, लोकतन्त्रको सुदृढीकरणको लागि र जनतालाई थप अधिकार सम्पन्न बनाउन सबैसँग मिलेर जान तयार रहेको बताए । चुनौतीको सामना गर्न एकता बाहेक अर्को हतियार नरहेको बताए । उनले अहिले पनि शहीद परिवारले न्याय पाइसकेको स्थिति नरहेको भन्दै बेपत्ता नागरिकका परिवार शान्तिले सुत्न नपाएको बताए । उनले शान्तिकोष स्थापना गर्नेकुरा बजेटमार्फत सुनिश्चित गरेपनि कार्यान्वयन अझै सुरु नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =