वर्षमा एकदिन मनाएर, चिया खाएर मात्र युवा दिवस सफल हुँदैन : खेलकुदमन्त्री

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले वर्षमा एकदिन मनाएर मात्रै युवा दिवस सफल नहुने बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवस २०२४ को मुल समारोह समितिको बैठकमा बोल्दै बिहीवार सिंहदरबारमा उनले यस्तो बताएका हुन् ।
‘अहिले २५ औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहेका छौँ । अर्को पटक २६ औँ मनाउँछौँ,’उनले भने,‘हामी यो युवा दिवस युवा तथा खेलकुद मन्त्रालयमा ३६१ जना बसेर होइन की थोरै मान्छे बसेर भव्यसभ्य कहिले पनि हुँदैन ।’
उनले युवा दिवस सफल बनाउन स्वदेशमै युवाका लागि रोजगारी र उत्पादनमूलक क्षेत्र निर्माण गर्न सक्नुपर्ने बताए ।
उनले देशका युवाहरू नेपालमै बस्ने योग्य बनाउन नसकेसम्म युवा दिवस मनाउनुको औचित्य नहुने बताए । उनले युवालाई रोजगारी सिर्जना गर्नेकुरामा बहस गर्नुपर्ने बताए ।
‘तपाईँ र हाम्रा देशका युवाहरू जबसम्म नेपालमै बस्ने योग्य बनाउँदैनौँ, हाम्रा युवालाई रोजगारी सिर्जना गर्नसक्नुहुन्न, बहस र छलफलमा अघि बढाउन सक्नुहुन्न, तबसम्म राम्रो हुँदैन । धेरे बालबालिकाहरू अहिले पनि पढ्न सकेका छैनन्,’उनले भने,‘हामी २५ युवा दिवस मनाइरहेका छौँ । हामी युवा दिवस मनाउँ, भव्य र सभ्य रूपमा । आजदेखि प्रण गरौँ, नेपालमै कसरी रोजगारी, उत्पादन बढाउनसक्ने बहस अघि बढाऔँ । वर्षमा एकदिन मनाएर, चिया खाएर युवा दिवस सफल हुँदैन ।’
मन्त्री चौधरीले युवा दिवस युवा तथा खेलकुद मन्त्रालयमा ३६१ जना बसेर सभ्य,भव्य नहुने बताए ।








