ओली क्याबिनेटमा पर्साबाट मात्रै तीन जना मन्त्री नियुक्त

पर्सा । पर्साबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित तीनजना सांसद सङ्घीय सरकारको नवगठित मन्त्रिपरिषद्मा सहभागी भएसँगै पर्सामा पूर्वाधार विकास तथा निर्माणले गति लिने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा पर्साबाट तीनजना सांसद मन्त्री बनेसँगै पर्साका स्थानीय, बुद्धिजीवी तथा उद्योगी, व्यवसायीमा जिल्लाको समग्र विकास निर्माणसहित राज्यको अन्य क्षेत्रमा उपस्थिति सशक्त र प्रभावकारी हुने विश्वास गरेका छन् ।

पर्साको प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद प्रदीप यादव खानेपानीमन्त्री नियुक्त भएका छन् । क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ निर्वाचित हुनुभएका सांसद अजयकुमार चौरसिया कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त भएका छन् । प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं ३ बाट प्रत्यक्षतर्फ निर्वाचित राजकुमार गुप्ताले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको नियुक्त पाएका हुन् ।

जिल्लामा प्रतिनिधिसभाका लागि चार निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १, २ र ३ मा छुट्टाछुट्टै राजनीतिक पार्टीबाट सांसद बनेका तीनजना सङ्घीय सरकारको मन्त्री पदमा नियुक्त भएका छन् । सांसद यादव जनता समाजवादी पार्टीको तर्फबाट, सांसद चौरसिया नेपाली कांग्रेस र सांसद गुप्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट प्रतिनिधित्व गर्छन् ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले पर्साबाट तीनजना मन्त्री हुनु जिल्लाको लागि उत्साहको विषय भएको बताए । ‘पर्साका तीनवटै निर्वाचन क्षेत्रका माननीय सांसद मन्त्री बनेका छन् । यो जिल्लाकै लागि गौरवको विषय हो । जिल्लाबाट एकै पटक तीनजना मन्त्री हुँदा पर्साका सडक, पुललगायत पूर्वाधार विकासका साथै विद्यमान समस्या समाधानमा प्रभावकारी योजना बनाएर अघि बढ्छन् भन्ने अपेक्षा लिएका छौँ ।

अध्यक्ष अग्रवालले फरकफरक राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने मन्त्री पर्साबाट बनेसँगै औद्योगिक तथा व्यापारिक सहर वीरगञ्जमा सकारात्मक ऊर्जा सञ्चार भएको बताए ।

‘तीनवटै पार्टीका सांसदले नागरिकसँग प्रत्यक्ष जोडिएका मन्त्रालयको जिम्मेवारी पाएका छन् । आगामी दिनमा जिल्लासँगै मुलुकको विद्यमान समस्या समाधानमा केन्द्रित हुने विश्वास छ । यसले समग्र मधेस प्रदेशमा नै सकारात्मक सन्देश दिएको छ’, अध्यक्ष अग्रवालले भने । जिल्लाबाट नियुक्त तीनैजना मन्त्रीसँग निजी क्षेत्र हातेमालो गरेर अघि बढ्न चाहेको धारणा उनले राखे ।

मधेस विश्वविद्यालयका उपकुलपति दीपक शाक्यले पर्सा जिल्लाले तीनजना मन्त्री पाउनु सबैका लागि खुसीको विषय भएको बताए । ‘पर्सा सधैँ उपेक्षामा पर्दै आइरहेको थियो । सङ्घीय सरकारको बजेट र अन्य विकासका योजनामा पर्सा पछाडि नै हुन्थ्यो । तीन फरक पार्टीका शक्तिशाली नेताहरू मन्त्री भएकाले समग्र जिल्लाको विकासका लागि नयाँ योजना बनाएर प्रभाकारी कार्यान्वयन गर्छन् भन्ने आशा र अपेक्षा राखेका छौंँ ।’

उपकुलपति शाक्यले सङ्घीय सरकारबाट पछिल्ला केही वर्षयता पर्सा जिल्लाका साथै वीरगञ्ज महानगरका लागि कम बजेट विनियोजन भइरहेकाले पूर्वाधार निर्माण तथा विकासका क्षेत्र प्रभावित भएका भन्दै अब सकारात्मक कार्यसम्पादन हुने विश्वास व्यक्त गरे ।

‘यसअघि राजनीतिक पहुँच कम हुँदा विकास निर्माणका काम पनि कम भएका थिए । अहिले जिल्लाबाट तीनजना सङ्घीय सरकारमा सहभागी भएका छन् । अब समग्र विकास निर्माणले गति लिने अपेक्षा गरेका छौँ’, उनले भने । उपकुलपति शाक्यले नारायणी अस्पताल, नारायणी रङ्गशाला, कोरिडोर, मधेस विश्वविद्यालयका लागि जग्गाको व्यवस्थालगायत पूर्वाधार निर्माण र विकासका क्षेत्रमा तीनैजना मन्त्रीले सहयोगी भूमिका खेल्ने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =