प्रधानमन्त्री लक्षित रमेश लेखकको कटाक्ष : प्रधानमन्त्री बनाएर प्रतिपक्षलाई कमजोर बनाएछौँ

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिपक्ष दलको नेता बन्न उपयुक्त पात्र भएको बताएका छन् ।

प्रधानमन्त्री दाहालले आफूमाथि विश्वासको मत माग्न प्रतिनिधिसभामा प्रस्ताव गरेपछि उनले सो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री दाहाल जब्बरजस्त प्रतिपक्ष दलको नेता बन्न सक्ने भएकाले आफूलाई लामो समय प्रधानमन्त्री बनाएर आफूहरूले विगतमा गल्ती गरेको प्रमुख सचेतक लेखकको कटाक्ष थियो । उनले प्रधानमन्त्री दाहालमा पद गुम्न लाग्दाको पीडा र आक्रोश भएकाले आफूहरूले उनीमाथि कुनै वाद, प्रतिवाद नगर्ने पनि बताए ।

प्रमुख सचेतक लेखकले भने ‘प्रधानमन्त्रीलाई पीडा छ । त्यसले उहाँलाई आक्रोशित बनाएको छ । पीडा र आक्रोशका सँगसँगै इमोशनल भावबाट प्रेरित र निर्देशित हुनुहुन्छ । प्रधानमन्त्रीले विश्वासको मत माग्नुभएको छ । दुई ठूला दलले सहमति गरेर विश्वासको मत नदिने निर्णय गरेका छन् । प्रधानमन्त्रीज्युले विश्वासको मत नपाउने स्थिति छ । यस्तो अवस्थामा प्रधानमन्त्रीले राख्नुभएको अधिकांश कुरामा मेरो असहमति छ । तर म उहाँले राख्नुभएको कुनैपनि विषयको खण्डन, प्रतिवाद, असहमति केही पनि गर्नेछैन । किनभने यसले थप कटुता उत्पन्न गर्छ । म के मात्रै आग्रह गर्न चाहन्छु भने हाम्रो संस्कार, संस्कृति, समाजले पीडामा रहेका कुनैपनि मानिसमाथि टिप्पणी गर्नु भनेको झन् ज्यादा पीडा दिनुभएकाले म त्यतातिर जान चाहन्न । र सम्माननीय प्रधानमन्त्री मेरो नेता पनि हो । यो सदनको पनि नेता हो । सबैको साझा व्यक्तित्व । खाली मैले एउटा राजनीतिक विषयमा टिप्पणी गर्न चाहन्छु–सम्माननीय प्रधानमन्त्रीज्यूले सुरुमै भन्नुभयो–दुई वटा ठूला दल मिल्यो भने संसदीय व्यवस्थामा प्रतिपक्ष कमजोर होला भनेर चिन्ता गर्नुभयो । यो चिन्ता मैले प्रधानमन्त्रीज्यूबाटमात्रै होइन, मैले पत्रपत्रिकामार्फत विज्ञहरू, विशेषज्ञहरू, राजनीतिक ज्ञाताहरूको पनि मैले यो कुरा सुनेको छु । यस्तो जब्बरजस्त प्रतिपक्षको दलको नेता हुनसक्ने व्यक्तिलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर हामीले हिजो अस्ति प्रतिपक्षलाई कमजोर बनायौ कि । अव प्रतिपक्ष बलियो हुन्छ भन्ने मैले विश्वास गरेको छु ।’

प्रमुख सचेतक लेखकले अब प्रतिपक्ष संसदमा निकै बलियो हुने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 9 =