सुन प्रकरण : तीन जनासँग धरौटी माग, १७ जना जेल

६१ किलो सुन प्रकरणको दोस्रो चरणको अनुसन्धानमा पक्राउ परेका १७ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। अरु तीन जनासँग धरौटी माग गरिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले १७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

राजु खत्री भन्ने प्रेमनाथ सेढाईंसँग ५७ लाख, कान्छा लामासँग ९७ लाख र रूपक भण्डारीसँग ९७ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश भएको छ।

सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाड, धिरज दिनेश भोइटे, प्रशान्त गणेश बजबलकर, चिनियाँ नागरिक गेन्जा झाछी, नेपाली नागरिकतामा सोनाम गुरूङ भएको चिनियाँ नागरिक शेराप, राजु पलासे भन्ने राजु खत्री, मनोजराज श्रेष्ठ, बैजनाथ ब्रह्मादत्त गोयल, सुरेन्द्रमान श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको हो।

अवैध भुक्तानी प्रक्रियामा संलग्नता देखिएका पेवेलका अध्यक्ष भीमप्रसाद तिमल्सिना, सहायक प्रमुख कार्यकारी अधिकृत प्रज्वल आचार्य र लेखा प्रमुख सुरज शम्शेर जबरालाई पनि थुनामा पठाउन आदेश भएको छ।

पेमेन्ट गेटवे सजिलो पे का प्रमुख कार्यकारी अधिकृत काश्यप मानन्धर, सदस्यहरू फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, शुशिला जाकिबन्जा, एजेन्टहरू लालबहादुर कुँवर र अरूण कुमार यादव पनि थुनामा गएका हुन्।

सिआइबीले यस प्रकरणमा ४६ जनालाई प्रतिवादी बनाएको थियो। जसमध्ये जम्मा २० जना पक्राउ परेका थिए।

उनीहरूविरूद्ध २ खर्ब ६६ अर्को ६७ करोड ९ लाख ९ हजार ३०८ रूपैयाँको बिगो दाबी गरिएको छ।

भन्सार ऐन २०६४, संगठित अपराध निवारण ऐन २०७०, मुलुकी अपराध संहिता २०७, नागरिकता ऐन २०२०, राहदानी ऐन २०२४, नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम सजाय माग गरिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − fourteen =