क्रसर व्यवसायीहरूको आन्दोलनमा प्रमुख सचेतक मेटमणिको ऐक्यबद्धता (तस्बिरहरू)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) क्रसर उद्योग नवीकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीहरूको आन्दोलनलाई ऐक्यबद्धता जनाएको छ ।

बिहीबार माइतीघर मण्डलामा पुगेर पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले क्रसर व्यवसायीहरूको आन्दोलनमा पार्टीको तर्फबाट ऐक्यबद्धता जनाएका हुन् । सो क्रममा उनले पार्टीले क्रसर व्यवसायीहरूको आन्दोलनलाई महत्वपूर्ण आन्दोलनका रुपमा लिएको र पार्टीको आन्दोलनप्रति ऐक्यबद्धता रहेको बताए । उनले सरकार आन्दोलनकारीका माग सम्बोधन गर्नेतिर भन्दा कुर्सी जोगाउने कुरामा बढी केन्द्रित भएको आरोप लगाए ।

उनले भने ‘यो आन्दोलनलाई धेरै महत्वपूर्ण आन्दोलनका रुपमा लिएको छु । हाम्रो पार्टीले यसरी लिएको छ । त्यसैले हाम्रो सहभागिता रहेको छ । केही दिनदेखि सरकार मैले के गर्ने, नेपालमा पुँजीपतिहरूको संख्यामा कसरी वृद्धि गर्ने, राजश्वको दायरा कसरी बढाउने भन्दा पनि आफ्नो कुर्सी जोगाउने, कुर्सी बचाउने खेलमा मात्रै सरकार रहेको कुराले धेरैले दुःख पाउनुभएको छ । धेरैका मागहरू अलपत्र भएका छन् । यसलाई चाँडो भन्दा चाँडो सम्बोधन गर्नुपर्छ । यही विषयसँग जोडिएको कानुन बनाउँदै छौँ, एक महिना भित्र हामी टुंग्याउँछौँ ।’

आन्दोलनका क्रममा आफ्ना धारणा राख्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले सरकारले क्रसर व्यवसायीहरूका माग तत्काल सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिए । उनले आफ्ना मागहरू चाँडो भन्दा चाँडो सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले भने ‘सरकारले हाम्रा माग सम्बोधन छिटो गर्नुपर्छ । यसले राज्यको नै क्षति हुनेछ । सरकारले चाँडो भन्दा चाँडो माग सम्बोधन गरोस् ।’

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सरकारले क्रसर उद्योगहरूको नवीकरण गर्ने कार्यलाई बेवास्ता गरेको असार १ गतेदेखि आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 5 =