युरोपमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनसँग राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मन सरकारसँग आग्रह गरेका छन् ।

जर्मन भ्रमणका क्रममा उनले जर्मनी समकक्षी फ्रयांक वाल्टर स्टाइनमायरसँगको भेटमा यस्तो आग्रह गरेका हुन् । बुधवार बिहान स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलको स्विट्जरल्याण्ड र जर्मन भ्रमणबारे जानकारी गराउँदै परराष्ट्रसचिव सेवा लम्सालले जर्मन भ्रमणका क्रममा राष्ट्रपति पौडेलले लुफ्थान्सा एयरलाइन्सको सर्भिस सुचारु गर्न र युरोपेली आकाशमा रहेको प्रतिबन्ध फुकुवा गर्न अनुरोध गरेका जानकारी दिए ।

उनले जर्मन भ्रमणमा जर्मनीका राष्ट्रपति डाक्टर फ्रयांक वाल्टर स्टाइनमायरसँग दुई पक्षीय भेटवार्ता भएको र विकास सहयोग, व्यापार, लगानी, पर्यटन, व्यावसायिक तालिममा केन्द्रित हुँदै दुवै पक्षबाट नेपाल–जर्मन सम्बन्धका सम्पूर्ण पक्षहरूमा छलफल भएको बताए । कृषि, पर्यटन र जलश्रोत लगायतका विकास प्राथमिकताका बारेमा प्रकाश पार्दै यी क्षेत्रमा जर्मन सहयोग र लगानीका लागि निजी क्षेत्रलाई समेत प्रोत्साहन गरेको बताए ।

त्यस्तै स्विट्जरल्याण्डको भ्रमणका क्रममा भियोला एमहर्डसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा नेपाल—स्विट्जरल्याण्ड सम्बन्धका विविध पक्षमा छलफल भएको सचिव लम्सालले बताए । दुवै पक्षबाट दुई पक्षीय सम्बन्धको विद्यमान अवस्थाका बारेमा सन्तोष व्यक्त गरिएको बताए ।

नेपाल र स्विट्जरल्याण्डबीच विकास सहयोग, उच्चस्तरीय भ्रमणको आदानप्रदान, सांस्कृतिक एवं जनस्तरको सम्बन्ध बिस्तार लगायतका दुई पक्षीय सम्बन्धका सबै पक्षहरूमा कृषि, ऊर्जा तथा दिगो पर्यटन विकासका क्षेत्रमा लगानीका सम्भावना तथा जलवायु परिवर्तनका नकारात्मक असरहरू विरुद्ध लड्ने र पर्वतीय पर्यावरण बचाउने विषयमा छलफल केन्द्रित भएको बताए ।

उनले स्विट्जरल्याण्डका राष्ट्रपतिसँगको भेटमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक, आर्थिक विकास, संघीयताको कार्यान्वयन र शान्ति प्रक्रियामा गरेको सहयोगका लागि स्विट्जरल्याण्ड सरकारलाई धन्यवाद व्यक्त गरे ।

स्विट्जरल्याण्डका राष्ट्रपतिले नेपाल समृद्धितर्फ अघि बढिरहेकोमा सन्तोष व्यक्त गरेको बताए । दुवै देशका राष्ट्रपतिसँगको भेटमा उनले दुवै देशका राष्ट्रपतिलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएको पनि सचिव लम्सालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eight =