शहरी विकास मन्त्रालयले ग्रामीण क्षेत्रलाई उपेक्षा गरेको छ : रञ्जिता श्रेष्ठ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले शहरी विकास मन्त्रालयले ग्रामीण क्षेत्रलाई उपेक्षा गरेको बताएकी छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा शहरी विकास मन्त्रालयका कार्यक्रमहरू शहरकेन्द्रित भएको बताएकी हुन् । उनले बजेटले ग्रामीण क्षेत्रलाई उपेक्षा गरेको बताइन् ।

उनले मुलुकको समानुपातिक विकासका लागि ग्रामीण क्षेत्र र दुर्गम क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताइन् । उनले ग्रामीण क्षेत्रमा आवासीय विकासका कार्यक्रमहरू सञ्चालन गर्न सकेमा मात्र समग्र देशको विकास सम्भव रहेको बताइन् ।

उनले भनिन् ‘शहरी विकास मन्त्रालय अन्तर्गतका कार्यक्रमहरू बढी शहरकेन्द्रीत भएकोले ग्रामीण क्षेत्रलाई उपेक्षा गरिएको देखिएको छ । मुलुकको समानुपातिक विकासका लागि ग्रामीण क्षेत्र, दुर्गम क्षेत्रलाई अझ प्राथमिकता दिएर अगाडी बढ्न सकेमा यसलाई मिलाएर सम्पूर्ण देशको समुन्नत विकास गर्न सकिन्छ । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत टिकापुर नगरपालिकामा २९६ वटा घर निर्माण गरिने कार्यक्रम भएतापनि कैलाली जिल्लाका अन्य पालिका जस्तैः जोशीपुर, जानकी, भजनी इत्यादिलाई पनि समेट्नुपर्ने आवश्यक देखिएको छ । कैलाली जिल्लामा रहेको मुक्त कमैया, हरवाचरवा वा कमलरीको संख्या बढिरहेको हुँदा यस जिल्लालाई प्राथमिकतामा राखेर कार्यक्रमहरू थप गर्नुपर्ने आवश्यक रहेको छ । यसरी ग्रामीण क्षेत्रमा पनि आवासीय विकासका कार्यक्रमहरू सञ्चालन गर्न सकेमा मात्र समग्र देशको विकास सम्भव रहेको छ ।’

उनले नेपाली सेनाले ठूला–ठूला विकास निर्माणका कामहरु ठेक्कामा लिएर पुनः अरूलाई ठेक्का लगाउने परिपाटीको अन्त्य गर्नु आवश्यक रहेको बताइन् । उनले सेनाले लिएको ठेक्कामा सेनाकै जनशक्ति परिचालन गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =