ओलीको विश्वास– उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्छ

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले पनि अन्तिम समयमा आएर आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन गर्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाली काँग्रेसलाई जिताउन नमिल्ने भन्दै उनले एमाले सत्तासाझेदार रहेको र माओवादी केन्द्रले पनि इलाम २ को उपनिर्वाचनमा आफ्नो पार्टी उम्मेदवारलाई समर्थन गर्ने ओलीको तर्क थियो ।

सोही उपनिर्वाचनलाई लक्षित गरी पार्टीको बझाङ–काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडांैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश १ मा हुने उपनिर्वाचनमा एमालेको जित सुनिश्चित रहेको दाबी गरे ।

प्रतिष्पर्धा गर्नसक्ने अन्य दल नभएकाले पनि एमालेले जित्ने ओलीको जिकिर थियो । अध्यक्ष ओलीले गत निर्वाचनमा माओवादी र समाजवादी केन्द्रको बलमा काँग्रेसले आफ्नो पार्टीलाई इलाममा टक्कर दिएपनि त्यस्तो अवस्था नरहेको बताए ।

उनले भने– ‘इलाम क्षेत्र नम्बर २ मा हिजो सबै मिल्दा पनि हामीले जितेका हौं । त्यतिबेला काँग्रेसका उम्मेदवार हामीसँग झण्डैझण्डै सिंगौरी खेल्न पुगेको थियो । माओवादीको घाँस, अर्काको घाँस, अर्काको कुँडो सबै खाएर निकै तागतिलो देखिएको थियो काँग्रेस । त्यतिबेला हामीले हराइदिएका थियौं । अहिले त्यस्तो घाँस, कुँडो कतै हुनेवाला छैन । त्यसकारण यसपल्ट इलाममा हामीसँग कोही प्रतिष्पर्धी छैन । हामी जित्छौं । बझाङ प्राविधिक हिसावले कुनै बेला हारेका थियौं । तर आज त्यहाँ समाजवादी पार्टीको भोट, माओवादी पार्टीका भोटले त्यहाँ काँग्रेसले जितेको थियो । आफनै बलमा, आफ्नै तागतमा होइन । हामीले १३ हजार ६ सय ल्यायौं । उनीहरुले १६ हजार ३ सय ल्याए । ४ हजार माओवादीको छ । १६ हजारमा ४ हजार घटाइ दिनुस । १२ हजारमा आयो । समाजवादी पार्टीको २ हजार छ । त्यो घटाइ दिनुस १० हजारमा आयो । मलाई विश्वास छ–अन्तिममा पुग्दासम्म माओवादीले हामीलाई समर्थन गर्छ । किनभने काँग्रेस जिताउन मिल्दैन । हामी भन्दा माओवादी पार्टी धेरै भोट लिएर त्यो पोजिसनमा हुन्थ्यो भने हामी खुला दिलले माओवादीलाई समर्थन गथ्र्यौ । तर माओवादीको ४ हजार छ । हामी १३ हजार छौं । साँढे १३ हजार भन्दा बढि छौं हामी । त्यसकारण हामीले छोडन मिल्दैन । गणितले स्पष्ट देखाउँछ–हामी यसपटक कमसेकम १३ हजारबाट १६ हजार त पुग्छौं पुग्छौं । काँग्रेस १० हजारमा झर्छ । त्यो स्पष्ट छ ।’

अध्यक्ष ओलीले बझाङ प्रदेश १ मा पनि आफ्नो पार्टीले १६ हजार बढी मत ल्याएर जित्ने दाबी गरे । त्यस अवसरमा उनले आन्तरिक किचलो नगरी निर्वाचन प्रचार जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 14 =