बाँसबारी जग्गा प्रकरण

स्टन्ट गर्नेहरुलाई मैले आफ्नो चरित्रको सर्टिफिकेट देखाउनु पर्दैन : विनोद चौधरी

काठमाडौं । उद्योगपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफूमाथि गरिएको अनुसन्धानलाई ‘राजनीतिक स्टन्ट’को संज्ञा दिएका छन् । बाँसवारी जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा बयान दिएर निस्किएका उनले बिहीबार सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै स्टन्ट गर्नेहरुलाई आफ्नो चरित्रको सर्टिफिकेट देखाउन नपर्ने बताएका हुन् ।

उनले अहिले राजनीतिक स्टन्ट भइरहेको उल्लेख गर्दै आफ्नो चरित्रको प्रमाणपत्र उनीहरुलाई दिइरहन जरुरी नभएको बताए । ‘म जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदा नेपालका उद्यमी र करदाताले कुन सन्देश लिएर जाने हुन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो,’ सांसद चौधरीले भने, ‘मेरो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरुलाई बुझाउनुपर्दैन । यस्ता गतिविधिबाट उद्यमी, लगानीकर्तालाई हतोत्साहित गर्छ । राजनीतिका आफ्ना तरिका छन् । म पनि नवलपरासीबाट निर्वाचित सांसद हुँ ।’

उनले आफ्नो परिवार विगत १४० वर्षदेखि देशका विभिन्न भागमा परियोजना सञ्चालनमा रहेको बताउँदै १० रोपनी जग्गाका लागि कुदृष्टि राख्छ भनेर सोच्नु नै विकृत मानसिकताको उपजबाहेक केही पनि नभएको बताए । ‘१० रोपनी जग्गाको बारेमा कुदृष्टि राख्छ भनेर सोच्नु नै विकृत मानसिकताको उपजबाहेक केही पनि होइन,’ उनले अगाडि भने, ‘मेरो आफ्नो ४५ वर्षको लामो अनुभवको आधारमा, उद्योग वाणिज्य महासंघको पूर्वअध्यक्ष र सीएनआईको पूर्वअध्यक्षको हैसियत र विचारकको हैसियतले मैले अहिलेसम्म विकासको राजनीति गरेँ । दलगत राजनीतिमा सक्रिय भइन, दलहरुका बीचका मतभेदमा सरिक भइन ।’

उनले बाँसबारी प्रकरणमा उद्यमीलाई राजनीतिकरण गर्ने र लगानीकर्तालाई राजनीतिकरण गर्ने उद्देश्य राखिएको बताए । ‘म फेरि पनि यस्ता गतिविधिबाट निजी क्षेत्र, उद्यमी, लगानीकर्तालाई विसुद्ध राखिनुपर्छ भन्न चाहन्छु । राजनीतिका आफ्ना फोरम छन् । म पनि नवलपरासीबाट प्रत्यक्ष निर्वाचित संसद हुँ । तर दुई चिजलाई जोड्ने काम मैले गरेको छैन र भोलि पनि गर्ने छैन,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =