संसद अवरोध सरकारले जबाफदेहिता नदेखाउँदाको परिणाम : कांग्रेस

काठमाडौँ । नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले सरकार सांसदहरूले उठाएको प्रश्नको जवाफ नदिईकन जबरजस्ती अघि बढेकाले संसद अवरोध गर्नु परेको बताएकी छन् ।
शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले उपप्रधान एवं गृहमन्त्रीविरुद्ध उजुरी परेको र छानबिन भइरहेको अवस्थामा प्रधानमन्त्रीसँग उनको नियुक्तिबारे जवाफ माग्दा सरकार पक्ष जबरजस्ती अघि बढेको बताइन् ।
उनले संसद अवरोधलाई सरकारले जबाफदेहिता नदेखाउँदाको परिणामका रुपमा लिनुपर्ने बताइन् । काँग्रेस लोकतान्त्रिक अभ्यासबाट नै अघि बढेको बताइन् । भ्रष्टाचार र अनियमिततासम्बन्धी फाइलहरू सबै खोल्नुपर्ने र अपराधमा संलग्नहरूलाई कारबाही हुनुपर्ने बताइन् ।
उनले भनिन् ‘विधेयकलाई अघि सारौँ भन्नेमा सरकार पक्ष जबरजस्ती लाग्नुभएको हो । यो विवादास्पद विषय छ, हामीले विगतको संसदमा पनि हेरेका छौँ । विगतमा पनि प्रश्न उठ्यो । त्यसमा अलिकति जबाफदेही तरिकाले सरकार नगएको हुनाले लोकतान्त्रिक अभ्यासबाट अघि बढेका हौँ । गैर लोकतान्त्रिक अभ्यासबाट गएका छैनौँ । फाइल कति वटा छ, तपाईँहरूले सुन र पुनको पनि कुरा सुन्नुभयो होला नि । फाइल कति वटा ओपन गर्ने ? फाइल सबै यो देशमा ओपन गर्न सम्पूर्ण अहिलेका दल तयार छन् । २७५ जना माननीयहरू तयार हुनुहुन्छ ? काँग्रेस फाइल खोल्न तयार हुनुहुन्छ । मन्त्रीलाई बयान लिन अख्तियार कहाँ जान्थ्यो त्यो खोज्नुहोस् । फाइल सबैको खोलिनुपर्छ । अपराध र अन्याय गर्ने मान्छे उम्किनु हुँदैन ।’
उनले अनियमितताका सबै फाइल खोल्न सबै राजनीतिक दल तयार हो ? भन्दै प्रश्नसमेत गरिन् ।








