सरकार र निजी क्षेत्रको सहकार्य नभएसम्म आर्थिक क्षेत्रमा फड्को मार्न सकिँदैन : रघुवीर महासेठ

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकार र निजी क्षेत्रको बीचमा सहकार्य नभएसम्म आर्थिक क्षेत्रमा फड्को मार्न नसकिने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित नेपाल तयारी पोसाक उद्योग संघको २९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देश बनाउने जिम्मा निजी क्षेत्रको मात्रै नभई सरकारको पनि बताए । उनले नेपालको आर्थिक वृद्धिदर अहिले ७।१ प्रतिशतबाट झरेर दुई प्रतिशत भन्दा तल आएको बताए । केपी शर्मा ओली यसअघि प्रधानमन्त्री रहँदा नेपालको आर्थिक वृद्धिदर ७।१ प्रतिशत रहेको उनको दाबी थियो । उनले अर्थतन्त्र सबल बनाउन सबै राजनीतिक दलहरूको भुमिका महत्वपूर्ण रहेको बताए । उनले अबका दिनमा अर्थतन्त्र थप सुधार हुँदै जाने बताए ।

उनले भने ‘अहिलेको पोजिसन हेर्ने हो भने नेपालको आर्थिक वृद्धिदर ७.१ बाट झरेर २ भन्दा मुनि छ । त्यो अब एक दुई महिनापछि सार्वजनिक गर्ने नै छौँ । देश बनाउने जिम्मा निजी क्षेत्रको मात्रै होइन । नेपाल सरकारको पनि हो । जबसम्म नेपाल सरकार र निजी क्षेत्रको बीचमा एउटा सहकार्य हुँदैन, आर्थिक क्षेत्रमा हामी फड्को मार्न सक्दैनौँ । निजी क्षेत्र मात्रै म अघि बढ्छु भनेर उहाँहरू सक्नुहुन्न । सरकारले निजी क्षेत्रलाई बाइपास गरेर जान्छु भयो भने पनि सफल हुँदैन । हिजो पनि गठबन्धनको सरकार थियो, आज पनि गठबन्धनको सरकार छ । तर गाडी जाँदाखेरि ड्राइभरलाई धेरै डिस्टर्ब गर्यो भने गाडी एक्सीडेन्ट हुने सम्भावना हुन्छ । बसभित्र बस्ने प्यासेन्जरहरूले पनि यो बस सुरक्षित ठाउँमा पुग्नुपर्छ, त्यो जिम्मेवारी लिनुपर्छ । त्यसमा सचेत हुनुपर्छ । आशा गरौँ, अब हिजो भन्दा अलिकति सुधार हुँदै अघि बढ्नेछ । यो सरकारबाट हुनसक्ने सबै प्रकारको सहयोग हामी गर्न तयार छौँ ।’

उपप्रधानमन्त्री महासेठले नेपालले तयारी पोसाकमा धेरै ठूलो परिवर्तन गर्नसक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eighteen =