राष्ट्रिय सभा निर्वाचन : एमालेसँग कुरा मिलेन, सत्ता गठबन्धनका दलहरू बीचमै सिट बाँडफाँट हुने

काठमाडौँ । राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरू बीचमै सिट बाँडफाँट हुने भएको छ ।

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धनबीचमै राष्ट्रिय सभाका निर्वाचन हुने सिट बाँडफाँट गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णय सुनाउँदै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी ४ दलका नेताहरूको बीचमा छलफल भएको र छलफलले गठबन्धन भित्रकै दलहरुबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताए ।

उनले सरकारमा सहभागी दलहरूको गठबन्धनले राष्ट्रिय सभाको चुनाव लड्ने बताए ।

उनले भने ‘सरकारमा सहभागी ४ दलका नेताहरूको बीचमा छलफल भयो । राष्ट्रिय सभाको सदस्य निर्वाचनको विषयलाई लिएर । आज पुनः ४ बजे बैठक बस्ने र ५ बजे सत्ता गठबन्धनमा सहभागी सबै दलहरूको बैठक बस्नेछ । सबैको बैठकबाट राष्ट्रिय सभा सदस्यको बारेमा टुंगो लगाउने निर्णय भएको छ । गठबन्धनकै बीचमा सिटको बाँडफाँट हुन्छ । सरकारमा सहभागी सहयोगी दलहरूबिचको छलफल र निर्णयले टुङ्गोमा पुग्छ । सरकारमा सहभागी दलहरूको गठबन्धनले चुनाव लड्छ । सत्ता गठबन्धनमा पनि आफ्नो आफ्नो हिसाबले दाबी गर्नुभएको छ, पार्टीहरूले । साँझसम्ममा टुङ्गोमा पुग्छौँ । सत्ता गठबन्धनले सदासयतापूर्वक एउटा वृहत् लोकतान्त्रिक धारणाका साथ सकिन्छ भने सत्ता र प्रमुख प्रतिपक्ष, प्रतिपक्षका बीचमा मिलेरै जान सकिन्छ की भन्ने हो । तर सम्भव भएन । देशभरको मतको स्थितिलाई मध्यनजर गरेर र कसको राष्ट्रिय सभामा कति स्थान छ, मतभार कति कसको छ भन्नेकुरालाई मध्यनजर गरी हामी टुङ्गोमा पुग्छौँ ।’

प्रमुख सचेतक लेखकले देशभरको मतको स्थितिलाई मध्यनजर गरेर सत्ता गठबन्धनका दलहरूबिच सिट बाँडफाँट हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 8 =