परम्परागत सैन्य सन्धी भएका मुलुक बाहेक अरु देशको सेनामा भर्ना गर्ने सरकारको नीति छैन : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले परम्परागत सैन्य सन्धी भएका मुलुकहरू भन्दा बाहेक नेपाली नागरिकलाई अरु देशको सेनामा भर्ना गर्ने सरकारको नीति नरहेको स्पष्ट पारेको छ ।
शुक्रवार बसेको संसदीय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले रुस युद्धमा मारिएका नेपालीहरूको शव स्वदेश फर्काउन र सुविधा, सम्बन्धित परिवारमा उपलब्ध गराउनका लागि पनि पहल भइरहेको बताए । उनले कुनैपनि मानिस सेनाबाट छुट्टिएर बाहिर आएका खण्डमा पनि फिर्ता गराउने काम भइरहेको पनि बताए ।
उनले रुस जाने र सेनामा भर्ती हुने अधिकांशहरू विद्यार्थी भिसा, भिजिट भिसा र केही कामदार भिसामा गएको पाइएको बताए । उनले जुन प्रयोजनले गएका हुन्, त्यो प्रयोजन बाहेक काम गरेको देखिएको हुनाले सरकारको तर्फबाट कन्सुलर डिपार्टमेण्टले दिने गरेर एनओसी लिनुपर्ने प्रबन्ध मिलाइएको बताए ।
उनले भने ‘रुसमा नेपालीहरू भर्ना भएको सन्दर्भमा पनि केही साथीहरूले जिज्ञासा राख्नुभएको छ । रुसमा केही नेपालीहरू हताहत भएको बारेमा यो रुस सरकारले हाम्रो राजदूतावाससँग कन्भर्सेसन गरेको छ । कन्भर्सेसनपछि हामीले वक्तव्य नै निकालेर वक्तव्य दिइसकेका छौँ । हामीले केही परम्परागत सैन्य सन्धी भएका मुलुकहरू भन्दा बाहेक नेपाली नागरिकलाई अरु देशको सेनामा भर्ना गर्ने सरकारको नीति छैन । जुन दिवंगत युद्धमा मारिएका व्यक्तिहरू छन्, उनीहरूलाई नेपाल फिर्ता गर्नको लागि पाउने सुविधा, सम्बन्धित परिवारमा उपलब्ध गराउनका लागि पनि लेखि पठाइसकिएको छ । नेपालीहरू जुन सेनामा भर्ना भएका छन्, कति संख्यामा छन्, भर्ना भएका नेपालीलाई नेपाल फर्काउन आग्रह गरिसकेका छौँ । कुनैपनि मानिस सेनाबाट छुट्टिएर बाहिर आएका खण्डमा पनि फिर्ता गराउने काम भइरहेको छ । यसो डिटेल हेर्दा विद्यार्थी भिसामा, केही मानिसहरु भिजिट भिसामा र केही कामदार भिसामा गएको पाइएकाले जुन प्रयोजनले गएका हुन्, त्यो प्रयोजन बाहेक काम गरेको देखिएको हुनाले सरकारको तर्फबाट कन्सुलर डिपार्टमेण्टले दिने गरेर एनओसी लिनुपर्ने प्रबन्ध मिलाइएको छ ।’
मन्त्री साउदले रुसी सेनामा भर्ना भएकाहरूलाई फर्काउन रुस सरकारका अधिकारीहरूसँग कुराकानी गरेको बताए ।








