तीनकुने र बल्खुको ताजा तस्बिर

काठमाडौं । एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईँको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौँमा कार्यक्रम गर्दैछन् । युवा संघको कार्यक्रम तीनकुनेमा र प्रसाईँको प्रदर्शन बल्खुमा हुने तय भएको हो ।

दुवै पक्षले उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निकालेर कार्यक्रमस्थल पुग्ने तयारी गरेका छन् । यसअघि दुवैको कार्यक्रमम माइतीघर मण्डलामा तय भएको थियो । झडपको सम्भावना भएपछि जिल्ला प्रशासन कार्यालयले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको स्थानलाई निषेधित क्षेत्र घोषणा गरी कार्यक्रमका लागि छुट्टाछुट्टै स्थान तोकिदिएको हो । १० बजेदेखि प्रदर्शन सुरुहुने भनिएपनि यो समाचार तयार पार्दासम्म कुनै समूहको प्रदर्शन सुरु भएको छैन ।

प्रदर्शनलाई ध्यान दिँदै उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । उपत्यका भित्रिने नाकामा सुरक्षा जाँच भइरहेको छ । ट्राफिक प्रहरीको समेत सहभागितामा नाकाबाट प्रवेश गर्ने हरेक गाडीमा निगरानी र सोधपुछ भइरहेको हो ।

अवैधानिक तथा प्रतिबन्धित वस्तु काठमाडौँ उपत्यका छिर्न नदिन एवं शङ्कास्पद व्यक्तिलाई रोक्ने उद्देश्यका साथ जाँच भइरहेको प्रहरीले जनाएको छ । निजी तथा सार्वजनिक तथा मालवाहक गाडीका साथै मोटरसाइकलमाथि पनि विशेष निगरानी भइरहेको छ । सहरका मुख्य चोकहरूमा पनि सुरक्षा जाँच भइरहेको छ ।

बल्खु र तीनकुनेमा हुन लागेको छुट्टाछुट्टै प्रदर्शनको सुरक्षाको लागि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटिएका छन् । प्रदर्शनको सुरक्षाको पहिलो तहमा नेपाल प्रहरी खटिनेछ । सशस्त्र प्रहरी दोस्रो लहरमा हुनेछ । सूचना सङ्कलनका लागि राष्ट्रिय अनुसन्धान विभागसँगै दुवै प्रहरी सङ्गठनबाट सादा पोसाकका प्रहरी समेत परिचालित भइसकेका छन् । दुई पक्षको जुलुसलाई जम्काभेट र घुसपैठ हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =