नेपाललाई विश्वकपमा पुग्न युएईले दियो १३५ रनको लक्ष्य

काठमाडौँ । आइसीसी टी–२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रनको योगफल तयार पारेको हो ।

५१ बलमा ८ चौका र २ छक्कासहित युएईका वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाए । चौथो ओभरको पहिलो बलमा खालिद शाह ३ रनमा रन आउट भए ।

सोमपाल कामीको बलमा ननस्ट्राइकबाट दौडनेक्रममा उनी आउट भएका थिए । सोमपालले रन आउट गर्दै पहिलो सफलता दिलाए ।

युएईले सुरुवाती तीन ओभरमै २९ रन बनाएको थियो । तर चौथो विकेटमा सोमपालले एक रन आउटसहित दुई विकेट लिएपछि नेपाल खेलमा फर्किएको थियो ।

सोमपालको चौथो ओभरको चौथो बलमा ठूलो सर्ट खेलेका वासिम डिप मिडविकेटमा करण केसीबाट क्याच आउट भए । वासिमले १६ बलमा ३ चौका र २ छक्कासहित २६ रनको आक्रामक इनिङ खेलेका थिए ।

सन्दीपले १० औं ओभरको अन्तिम बलमा आसिफ खानलाई १३ रनमा एलबीडब्लू आउट गरे । कुशल मल्लको १४ औं ओभरको चौथो बलमा ठूलो सर्ट खेलेका एलिशान शराफु १६ रनमा लङअफमा सोमपाल कामीबाट क्याच आउट भए । शराफुले १४ बल खेल्दा ३ चौका हानेका थिए ।

कप्तान रोहित पौडेलको १६ औं ओभरको पाँचौं बलमा अली नासिर लङअफमा कुशल भुर्तेलबाट ४ रनमा क्याच आउट भए । एलिशान शराफु १६, आसिफ खान १३, अली नासिर ४, बासिल हामिद र आयन खान १–१ रनमा आउट भए ।

नेपालका कुशल मल्लले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । कप्तान रोहित पौडेलले १ ओभरमा ६ रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =