प्रचण्ड र लिङ्देनबीच भेटवार्ता, देउवालाई पनि राप्रपाकै भर !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा अध्यक्ष राजेन्द लिङ्देनबीच मंगलबार सिंहदरबारमा भेटवार्ता भएको छ ।
समसामयिक राजनीतिक घटनाक्रम, विकास निर्माण र कोशी सरकारबारे उनीहरूले कुराकानी गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले अध्यक्ष लिङ्देनलाई कोशी सरकार गठनमा सहयोग गर्न आग्रह गरेका छन् । तर अध्यक्ष लिङ्देनले यसबारे पार्टीले निर्णय लिन बाँकी नै रहेको जवाफ दिएका छन् ।
अब कांग्रेस सभापति शेरबहादुर देउवासंग पनि भेटवार्ताका लागि तयारी भइरहेको स्रोतले जनाएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको पछिल्लो बैठकले कोशी सरकारबारे आवश्यक निर्णय लिन अध्यक्ष लिङ्देनलाई अधिकार दिने निर्णय गरेको छ ।
संविधानको धारा १६८ मा प्रदेश सरकार गठनको प्रावधान छ । जसको उपधारा ५ मा ‘…कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्नेछ’ भन्ने उल्लेख छ ।
प्रदेश १ मा कुनै पनि दलको एकल बहुमत छैन । दुई वा दुईभन्दा बढी दलको सहयोगमा यसअघि सरकार गठन हुँदै आएका थिए ।
उपधारा ५ बमोजिम पनि सरकार बन्ने र बहुमत पुग्ने स्थिति नबनेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभा विघटन गर्न सक्ने संविधानको धारा १६८ को उपधारा ७ मा व्यवस्था छ। यसो भएमा ६ महिनाभित्र प्रदेश सभाको अर्को निर्वाचन सम्पन्न हुने गरी मितिसमेत तोक्नुपर्ने हुन्छ ।
मध्यावधिमा जान नदिन सत्ता गठबन्धनले राप्रपालाई आग्रह गरिरहेको छ ।
कोशी प्रदेश सभा ९३ सदस्यीय छ । बहुमतका लागि ४७ जना प्रदेश सभा सदस्यको साथ चाहिन्छ ।
कोशीमा नेकपा एमालेका ४० जना सांसद छन् । नेपाली कांग्रेसका २९ जना, माओवादी केन्द्रका १३ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना, नेकपा (एकीकृत समाजवादी) का चार जना, जनता समाजवादी पार्टीका एक जना सांसद छन् ।
संघीय सरकार चलाइरहेको सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाका गरी ४७ जना छन् । यहाँ सभामुख रिक्त छन् ।
त्यसैले ६ सांसद भएको राप्रपाको सत्ता गठबन्धनले साथ खोजेको छ ।








