महँगी नियन्त्रण गर्न र बजार अनुगमन गर्न सांसदहरूको माग

काठमाडौँ । सांसदहरूले चाडपर्वको मुखमा महँगी अचाक्ली बढेको भन्दै महँगी नियन्त्रण गर्न र बजार अनुगमन गर्न सरकारसँग माग गरेका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले चाडपर्वको मुखमा महँगी र कालोबजारी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरूले महँगी नियन्त्रण गर्नका लागि बजार अनुगमन गर्न सरकारसँग माग गरेका छन् । बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य अञ्जनी श्रेष्ठले महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनले भने ‘महँगी, भ्रष्टाचार र बिचौलियाहरूको चलखेलले दैनिकी चुल्हो, चौका चल्न मुस्किल भइसक्यो । यो सरकार कहाँ छ रु दसैँ, तिहार नजिकिँदै छ । महँगीलाई कसरी नियन्त्रण गर्ने भन्नेतर्फ सरकारको ध्यानाकर्षण गराउँदछु ।’
प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले महँगीको नियन्त्रण गर्दै राहतको कार्यक्रम ल्याउन सरकारसँग माग गरे । उनले जनता कालोबजारीबाट रन्थनिनुपरेको अवस्था रहेको बताए ।
उनले भने ‘साना तथा मझौला उद्योग बन्द भएका छन् । औद्योगिक क्षेत्र हतोत्साहि छ । घोर आर्थिक मन्दी, बेरोजगारीबाट नेपाली जनता निराश छन् । कालोबजारीले रन्थनिएको अवस्था छ । पश्चिम नेपालमा खाद्यान्नको अभाव सुनिएको छ । महँगी आकासिएको छ । चाडबाडको बेलामा यस्तो स्थिति छ सरकार के हेरेर बसेको छ रु गम्भीरतापूर्वक राहत कार्यक्रम ल्याओस् ।’
प्रतिनिधि सभा सदस्य आश्माकुमारी चौधरीले चाडबाडमा जनतालाई सुविधा हुनेगरी सहुलियत प्रदान गर्न माग गरे । उनले बजार अनुगमन गरी महँगी नियन्त्रण गर्न पनि माग गरे ।
उनले भने ‘चाडबाड नजिकिँदै जाँदा महँगी बढाएर जनताको जीवनमाथि खेलबाड गरिरहेको छ । बजारमा हरेक सामानको मूल्य आकासिएको छ । तर सरकार मौन छ । पेट्रोलियम पदार्थ, खाना पकाउने ग्याँस लगायत मूल्यवृद्धि गरेर फिर्ता लिएको छ । तर महँगी नियन्त्रण छैन । चाडबाडमा जनतालाई सुविधा हुनेगरी यथाशीघ्र सहुलियत प्रदान गर्न र बजार अनुगमन गरी महँगी नियन्त्रण गर्न सरकारसँग जोडदार माग गर्दछु ।’
प्रतिनिधि सभा सदस्य उदय शमशेर जबराले पनि यथाशीघ्र बजार अनुगमन गर्न माग सरकारसँग माग गरे ।
प्रतिनिधि सभा सदस्य उर्मिला माझिले मूल्यवृद्धिको आतङ्क कम गर्न सरकारलाई आग्रह गरे ।
प्रतिनिधि सभा सदस्य असीम साहले सरकारले खेलाडीहरूलाई पुरस्कार दिने घोषणा गरेर पनि नदिएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
उनले भने ‘खेलाडीलाई पुरस्कार दिन सरकारले बिर्सेको छ । सरकारले बिर्सेको कुरा सदनमा पटक पटक उठाउन मलाई चाहिँ लाज लागिसकेको छ । क्रिकेट खेलाडीले लिग जितिरहे सरकारले उधारो पुरस्कार घोषणा गर्दै गयो । खेलाडीले पाउनुपर्ने रकम १६÷१७ लाख जम्मा भइसकेको छ । दुई रुपैयाँ पनि दिन सकेको छैन । तपाईँहरू खेल खेल्न जानुस् फर्किँदासम्म पैसा आउँछ भनेर प्रधानमन्त्रीले बोल्नुभयो तर भुक्तानीको कुनै सुरसार छैन । दलाल, बिचौलिया, ठेकदारको कुरा भएको भए अग्रिम भुक्तानी हुन्थ्यो होला । ब्याक डेटमा चेक बन्थ्यो होला । खेलाडीलाई झुठो आश्वासनमा झुलाइएको छ ।’
प्रतिनिधि सभा सदस्य अम्बिका बस्नेतले पेसाकर्मीहरूलाई सरकारले शान्ति, सुरक्षा दिन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
उनले भने ‘आज देशमा हत्या, हिंसा, आतङ्क बढेको छ । भ्रष्टाचार, महँगी बढेको छ । बेरोजगारी बढेको छ । धर्म, जातिका नाममा समाज विभाजित भइरहेको छ । देश डरलाग्दो अवस्थामा गएको महसुस गरिरहेका छौँ । चिकित्सकमा पिटिने परिस्थिति छ । पेसाकर्मी सुरक्षित महसुस गरिरहेका छैनन् । प्रहरी नै डाक्टर कुटे भनेर गर्व गर्छ । यहाँ कसले शान्ति सुरक्षाको प्रत्याभूति गर्छ रु’
प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले सिंहदरबारस्थित नेपालको पहिलो संसद भवन जीर्ण अवस्थामा रहेकाले पुनः निर्माण गराउन सरकारको ध्यानाकर्षण गराए ।
उनले नयाँ संसद भवनमा संसद बैठक कहिले बस्छ भनेर प्रश्न समेत गरे ।








