प्रधानन्यायाधीश सिफारिस गर्न बोलाइयो संवैधानिक परिषद बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।
आइतबार सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्रीले मंगलबार बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाएका हुन्।
मंगलबार अपराह्न ४ बजे बस्ने बैठकले भावि प्रधानन्यायाधीश सिफारिस गर्नेछ। हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की आगामी साउन २० गते उमेरहदका कारण अनिवार्य अवकासमा जाँदैछन्।
यसअघिबाटै उनले नियमित इजलासमा बस्न छाडेका छन्। प्रधानन्यायाधीश बिदाहुनु एक महिना पहिले नै भावि प्रधानन्यायाधीश सिफारिस गर्नु पर्ने संवैधानिक व्यवस्था छ। तर त्यो भन्दा निक्कै पछि प्रधानमन्त्रीले बैठक डाकेका हुन्।
प्रधानमन्त्रीको अध्यक्षतामा हुने संवैधानिक परिषदमा प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहन्छन्।








